कैलाली– कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।
टीकापुर अस्पतालमा हरेक महिना झन्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दास बताउँछन् ।
यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको डा.दासले जानकारी दिए ।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् ।
“कहिलेकाहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ”, उनले भने, “सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा सङ्क्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दैआएका छौँ ।”
अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ । डा दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले सुनाईन ।
“मेरो बुहारीको अवस्था खतरामा थियो, बाहिर लैजान हामीसँग रकम थिएन, टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो”, थरुनी भन्छिन्, “धेरै गरिबको रकम बचत भएको छ ।”
टीकापुर नगरपालिकाले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया