मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक समीक्षा

भूमिहीन बनाइएका भूमिपुत्रहरुको चित्कार ‘झोडा’

काठमाडौँ–  भूमिहीन बनेका भूमिपुत्रहरुको पीडा देखाउन काठमाडौँ आएका नाट्यप्रेमीको जमघटले बत्तीसपुतलीस्थित शिल्पी थिएटरको प्राङ्गण ‘गुल्जार’ छ ।

शिल्पीको अग्रभागमा दुईतिर ठडिएका ‘झोडा’का पोस्टरहरूलाई पृष्ठभूमि बनाएर तस्वीर लिनेको भीड उस्तै छन् । त्यही भिडमा ‘झोडा’का पीडालाई क्यानभासमा उतार्दै छन्, ललितकलाकर्मीहरू ।

बन्द ढोका खुलेपछि शिल्पीको अँध्यारो मञ्चमा हातमा लाठी बोकेर भुँइतिर बजारिरहेका एक हुल मानिसको तीव्रता सङ्गीतको लयमा अगाडि बढिरहेको ध्वनिले दर्शक शान्त मुडमा फर्कन्छन् । 

यो परिवेश शिल्पीमा फागुन ११ गतेदेखि मञ्चनमा आएको नाटक ‘झोडा’को हो । इलामस्थित चुलाचुली नाट्य समूहले काठमाडौँसम्म नाटक ल्याएर मञ्चन गर्ने जमर्को गरिरहेको छ । गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ उपन्यासमा आधारित रहेर नाटक ‘झोडा’ तयार गरिएको छ ।

नाटकमा विशेषतः झोडामा जग्गा आबाद, त्यसको स्वामित्व र अधिकार प्राप्तिका लागि सुदूर पूर्वका आदिवासीहरूले पञ्चायत कालमा भूमिसुधार ऐन लागु भएपछि गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ । 

पूर्वी मधेसमा बसोबास गर्ने प्रमुख आदिवासी धिमाल र कुमाल जातिले जङ्गललाई प्रचलनको भाषामा ‘झार’ भन्ने गरिन्छ । धिमाल भाषामा दुईखोला बीच फैलिएको जङ्गलको भूभागलाई ‘झोरा’ भनिन्छ । त्यहीँ ‘झोरा’ अपभ्रंश भई ‘झोडा’ भएको कथन छ । 

आफ्नै संस्कार र भूमिमा आदिम कालदेखि रमाइरहेका भूमिपुत्रहरुमाथि राज्यबाट निर्मम रूपमा प्रहारहरू भए । जालझेल होस् या कूटनीतिक प्रयासबाट भूमिपुत्रहरु भूमिहीन बनाइए ।

शाहकालीन समय होस् या पञ्चायत काल, बहुदलीय प्रजातन्त्र, २०६२-०६३ को जनआन्दोलनदेखि हालसम्म आदिवासीहरु आफ्नो पहिचान र अधिकारका लागि लडिरहेका छन् ।     

पूर्वी पहाडका आदिवासी जनजातिहरूमाथि पञ्चायत कालमा निर्मम रूपमा जालझेल भयो । पूर्वी नेपालको अधिकांश क्षेत्रमा किराँतहरूको आफ्नो एकलौटी भूमि स्वामित्व (किपट) थियो । पृथ्वी नारायण शाहको राज्य एकीकरणको समयमा समेत लिम्बुवान क्षेत्रलाई किपट प्रणाली अन्तर्गत नै राखिएको थियो ।

जहाँ लिम्बुवान भूमिमा लिम्बु जातिको अधिकार थियो । तथापि पञ्चायत कालमा वि.सं. २०२१ सालमा भूमिसुधार ऐन लागु भएपछि लिम्बुहरूको पूर्ण अधिकार रहेको किपट प्रणालीमा राज्यको आँखा पर्‍याे । जसले किपट अस्तित्व नै समाप्त पार्ने काम गर्‍याे। तीनताका लिम्बुवान क्षेत्रका भूपू सैनिकहरू पञ्चायत शासन व्यवस्था विरुद्धमा थिए ।

अर्कोतिर किपट प्रणालीमा खारेजबाट क्रुद्ध भएका उनीहरूलाई शान्त पार्न तत्कालीन शासन व्यवस्थाले मधेसका तीन जिल्लाहरू झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जग्गा आबाद ‘झोडा’ खुलाइएको थियो । त्यतिबेला प्राचीन थातथलो छाडी पूर्वी पहाडका मानिसहरू आबाद गर्न मधेस झरे ।

सुखको आसले मधेश झरेका किराँतीहरू उल्टै भूमिहीन र सुकुम्वासी बन्न पुगे । तिनै पूर्वी पहाडियाहरू मधेशमा झरेपछि उनीहरूले खेपेको दुःखको वृत्तान्त नै नाटक ‘झोडा’ हो । 

किराँतीहरू आफ्नो थातथलो छोडेर मीठो सपना बोकेर मधेश झरेका थिए । आफ्नो जाएजेथो र लालाबाला बोकेर मधेश झरेका किराँतीहरूले झोडामा नयाँ वासस्थान बसाउने सपना बोकेर जङ्गल आबादी गरे ।

त्यसैमा आफ्नो टाउको लुकाउने ठाउँ बनाएका उनीहरूमाथि तत्कालीन शासन व्यवस्थाले झुटो आश्वासन दिए । त्यहाँ पनि उनीहरूलाई भूमिको स्वामित्व दिइएन । भूमिकै लागि किराँतीहरू पक्राउ परे, यातना सहे र भूमिहीन बने । परिवारहरू तितरबितर बने । यस्तो अवस्थामा पनि उनीहरूमाथि तत्कालीन राज्यले दया देखाएन ।

यी सबै नाटकका दृश्यहरूमा हेर्दै गर्दा पूर्वी पहाडका आदिवासी समुदायमाथि राज्यले गरेको व्यवहार क्रूर लाग्छ । नाटकमा पूर्वी किराँती समुदायको लवज र आवरणले उतैको संस्कृतिको झलक दिन्छ । धिमाल जातिको संस्कृति देखाउने सङ्गीत र नृत्यले पूर्वी मधेश झोडाको झल्को दिन्छ । 

नाटकको शुरुवातको विषय नै भूमिसुधार ऐन लागुले खारेज गरेको ‘किपट’ प्रणालीपछि मधेश छिरेको किराँतीहरूको लहर देखिन्छ । खासमा भूमिसुधार ऐनले खारेज गरेको ‘किपट’ बारे दर्शक अनविज्ञ हुन्छन् ।

‘किपट’ लिम्बुवान राज्यको पृष्ठभूमिबारे जानकार दर्शकका लागि मधेश झर्दै गरेका लिम्बुहरूको कथा अझै रोचक र चोटिलो लाग्न सक्छ । नाटक ‘झोडा’मा आफ्नो सपना र अधिकार प्राप्तिका लागि लडेका आदिवासीहरू लडाइँ तथा सङ्घर्ष जीवन्त देखिन्छ । उनीहरूको सङ्घर्षमा राज्य र शासकले गरिरहेको राजनीतिको दृश्यहरू उस्तै सशक्त लाग्छन् ।

हिजोदेखि आजसम्म आदिवासी जनजाति तथा सीमान्तकृत समुदायले आफ्नो भूमि र स्वामित्व कसरी गुमाइरहेका छन् र राज्यबाट कसरी उनीहरूको अधिकार चीरहरण भइरहेको छ भन्ने यथार्थलाई नाटकले चित्रण गरेको छ । भूमिपुत्र रहेर पनि राज्यकै कारण भूमिहीन बनिरहेका आदिवासीहरूको कथा केवल नाटक मात्र नभएर दस्ताबेज पनि हो । 

रङ्गकर्मी चेतन आङथुपोले आफ्नै समुदायको एउटा इतिहासलाई नाटकका रूपमा परिकल्पना तथा निर्देशन गरेका छन् । सुमन लिङ्देनले नाटकका रूपमा ढालेका छन् ।

यी दुवैले लिम्बुवानको भूमि इतिहास, त्यसैमा चलेको राजनीतिक चलखेल र समुदायको सङ्घर्षलाई रङ्गमञ्चमा ल्याउने प्रयास नै प्रशंसनीय छ । जसले यो समयको पुस्तालाई इतिहासको झलक दिने काम गरेको छ ।

नाटकमा प्रयोग भएका सङ्गीतका ध्वनिहरू र लवजमा किराँती सौन्दर्यलाई सुगन्ध दिएको छ । 

फागुन २२ गतेसम्म मञ्चन हुने नाटकमा मनकुमार योङ्गहाङ, रमिला राई, उदय वेघा, बोन्पो सन्तोष, मनिष मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, बाल कलाकार प्रिन्स तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?