मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वृद्धाश्रममै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता

वालिङ -स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो ।

उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै आएका छन् । झण्डै १५ किलोमिटर टाढाको गल्याङमा रहेको बैंकसम्म जानसक्ने अवस्था नभएका ज्येष्ठ नागरिकले आश्रममै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि खुसी भएका छन् । वृद्धाश्रममा स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, कास्कीलगायत जिल्लाका ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

वृद्धाश्रममा बस्दै आउनुभएकी ९४ वर्षीया धनकुमारी मल्ल गल्याङस्थित बैंकमा जान सक्ने अवस्था छैन । मल्लजस्तै वृद्धाश्रममा बस्दै आएका अन्य वृद्धवृद्धाको अवस्था उस्तै हो । वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न जान आउन समस्या भएका कारण वृद्धाश्रम, गल्याङ नगरपालिका र गरिमा विकास बैंकको समन्वयमा वृद्धाश्रममै भत्ता उपलब्ध गराउन थालिएको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले बताए ।

हाल नौ जनालाई गरिमा विकास बैंकले वृद्धाश्रममै आएर भत्ता वितरण गर्दै आएको उनले बताए । “यहाँ बस्नुभएका ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान ल्याउन समस्या छ”, कार्यालय सचिव श्रेष्ठले भने, “ज्येष्ठ नागरिकको सहजतालाई ध्यान दिँदै वृद्धाश्रममै भत्ता दिने व्यवस्था मिलाइएको छ ।” वृद्धाश्रममा बस्दै आएकामध्ये केही ज्येष्ठ नागरिकको नागरिकतासमेत नभएकाले भत्ता उपलब्ध गराउन नसकिएको उनले बताए ।

गरिमा विकास बैंक गल्याङका कर्मचारी वृद्धाश्रममै उपस्थित भई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको शाखा प्रमुख यज्ञ न्यौपानेले जानकारी दिए। वृद्धाश्रममा बस्दै आएका गल्याङ नगरपालिका–१ भन्दा बाहिरका ज्येष्ठ नागरिकले वडामा बसाइँसराइको प्रमाणपत्र ल्याएर भत्ता बुझ्दै आएका छन् । “यसअघि वृद्धाश्रममा बस्दै आएका ११ ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेका थियौँ”, शाखा प्रमुख न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?