काठमाडौँ– नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङको भौतिक शरीर हामीमाझ भएको भए उनी अहिले ८६ औं वसन्तमा लाग्थे । नेपाली संगीतलाई बेग्लै उचाइ दिएका संगीतका हस्ती गुरुङको भौतिक शरीरले झण्डै आठ वर्षअघि नै धर्ती छोडिसकेको छ ।
उनको वि.सं.२०७३ (७ जुन २०१६) मा काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । पुर्ख्यौली थलो गोरखा जिल्लाको रिसिङमा भए पनि हजुरबुवा र बुवा भारतीय सेनामा भएका कारण वि.सं. १९९४ (सन् १९३८) मा भारतको दार्जिलिङस्थित मिलिङ कमानमा उनको जन्म भएको थियो ।
जन्मथलो भारत भए पनि कर्मथलो भने उनले नेपाललाई नै बनाए । नेपालमा बसेर उनले नेपाली संगीतको उत्थान मात्र होइन, यसको नयाँ गोरेटो र यसमा हिँड्ने संगीतका नयाँ पुस्तालाई जन्माएर हिँडाउने काम गरे । उनले कैयन् कालजयी गीतमा संगीत भरेर नेपाली सांगीतिक इतिहासलाई उँचो बनाएका छन् ।
गुरुङ संगीतकारको परिचयमा मात्र सीमित छैनन् उनले चित्रकार, कवि, गीतकार र लेखकको परिचय पनि बनाएका छन् । साथै गुरुङ नेपाली भाषा साहित्यका एक साधक पनि हुन् ।
आज फागुन १४ अर्थात् फेब्रुअरी २६ मा गुरुङको ८६ औं जन्मजयन्ती हो । नेपाली संगीतमा उनले पुर्याएको योगदानको कदर गर्दै संगीत क्षेत्रका सर्जकहरुले उनको ८६ औं जन्मजयन्ती मनाउँदै छन् ।
संगीतकार राजकुमार श्रेष्ठको समूहले ‘अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा’ मार्फत् अर्केष्ट्राको धुनमा ‘अम्बर’का सिर्जनाहरुलाई प्रस्तुत गर्दै उनको जन्म जयन्ती मनाउँदैछन् । कलंकीस्थित एल. आर.आइ.विद्यालयमा आज हुँदै गरेको कार्यक्रमलाई तलेजु धनकुमारी कोषले आयोजना गरेको हो ।
त्यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका पहिलो कुलपतिसमेत रहेका गुरुङको स्मरण गर्दै जन्मजयन्ती मनाउँदैछ । संगीतकार श्रेष्ठ गुरुङका संगीत चेला पनि हुन् । आफ्नो गुरु तथा संगीत क्षेत्रका हस्तीका रुपमा स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिरहेको श्रेष्ठले जोय नेपालसँगको कुराकानीमा बताए ।
नेपाली संगीतलाई आधुनिक मोडमा गुरुङले ल्याए । त्यसैमा अर्केष्ट्रा संगीतलाई फैलाउने उनको सपना रहेको उनका चेलाहरु आभास र राजकुमार श्रेष्ठलगायतलाई उतिबेला नै भान हुन्थ्यो । गुरुङकै सपना स्वरुप श्रेष्ठ अर्केष्ट्रा धुनमा गुरुको जन्मोत्सव बनाउँदै आइरहेका छन् । नेपालमा अर्केष्ट्रा संगीतको विकास र विस्तारमा उनी ५० को दशकदेखि लागि परेका छन् ।
श्रेष्ठ ०४२ देखि गुरुङका चेला भए । सिक्दै जाँदा गुरुङले श्रेष्ठलाई नै भ्वाइलिनको जिम्मा दिएका थिए । ‘गुरुले त्यतिबेला नेपालमा अर्केष्ट्रा संगीतको विकास गर्छु नै भनेर त भन्नुभएन तर उहाँको सपना छ भन्ने चाहीँ देखिन्थ्यो’, उनले भने, ‘त्यतिबेला सिक्ने मान्छे र सिकाउन सक्ने सम्भावना पनि नदेखेर नभन्नुभएको होला ।’
उनी २०५० सालतिर नै गुरुको आग्रहमा भ्वाइलिन खरिदका लागि कलकत्ता पुगेका थिए । त्यहाँबाट दुई वटा भ्याइलिन ल्याएर २०५२ सालदेखि नै बालमन्दिरका कालबालिकाहरुलाई प्रशिक्षण दिन शुरु गरिएको थियो । २०७१ सालदेखि नै चक्रपथस्थित नारायणगोपाल निवासमै बसेर श्रेष्ठले अर्केष्ट्रा संगीत प्रशिक्षण दिँदै आइरहेका छन् । सन् २०१४ मा श्रेष्ठले अर्केस्ट्रा च्याम्बरको स्थापना गरेका हुन् । यसलाई उनी गुरुसँगै नारायण गोपालको सपनाका रुपमा लिन्छन् ।
संगीत भनेको मनोरञ्जन मात्र होइन, आत्मारञ्जन पनि हो भन्ने ज्ञान श्रेष्ठले गुरुबाट नै सिके । संगीतले बाहिर व्यक्तिलाई छुनु–नछुन अलग कुरा हुन्, तर सर्जक आफैंलाई भने पहिला छुनुपर्छ भन्ने गुरुङको मान्यता रहेको श्रेष्ठ स्मरण गर्छन् ।
संगीतलाई दर्शन र व्यक्तिको भावना र शब्द उतार्ने माध्यकका रुपमा लिने संगीतका अथक साधकका रुपमा उनी गुरु गुरुङलाई सम्झन्छन् । उनले सम्झे, ‘संगीतलाई बुझ्न साहित्य पढ्नुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो । संगीतको धुन कानमा गुञ्जिएर सुनिन छोड्ने बित्तिकै आत्मामा पुग्नुपर्छ भन्ने कुरा उहाँ सुनाइरहनुहुन्थ्यो ।’
वि.सं.२०१६ मा ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता गीत कलकत्तामा तयार गरेका गुरुङ त्यतिबेला नै दार्जिलिङका नेपाली भाषी संगीत सर्जकका रुपमा चिनिएका थिए । दार्जिलिङमा नेपाली प्रवासी भएर भोग्नु परेको पीडा र देशभक्तिका भावना उनले आफ्नो सिर्जनामा उतारेका थिए ।
कवि अगमसिंह गिरीले रचनामा रहेको गीत ‘नौ लाख तारा उदाए’ मा संगीत भरेर अझै उनले राष्ट्रभक्ति र क्रान्तिकारी भावना जगाए । दार्जिलिङमा भाषाको आन्दोलन चलिरहेको तीनताका यो गीतले दार्जिलिङबासी नेपालीलाई जगाउने काम गरेको थियो । भारतको अल इन्डिया रेडियोले प्रतिबन्ध लगाइदिएको यही गीत नेपालमा पनि गुञ्जिन थालिसकेको थियो ।
वि.सं. २०२४ मा राजा महेन्द्रले नेपाल ल्याएका उनी २०२६ सालदेखि नेपालमै बसे । उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकका रुपमा लामो समय जागिरे भए । पछि २०६२/०६३ को जनआन्दोलनपछि बनेको नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुसार तीन प्रतिष्ठानहरु (नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान) गठन भएर संगीत नाट्यमा गुरुङ पहिलो कुलपतिका रुपमा नियुक्त भएका थिए । उनको पछिल्लो अमर र अजर सिर्जना राष्ट्र गानको धुन बन्यो । राष्ट्र गान ‘सयौँ थुङ्गा फूलका हामी’मा उनले संगीत भरेका हुन् ।
नेपाली संगीतमा महान हस्तीहरुको लहरमा संगीतकार गुरुङको नाम सांगीतिक फाँट र इतिहासमा सधैं अटल रहने संगीतककार सुरेश अधिकारी सुनाउँछन् । नेपाली मौलिक संगीतलाई पश्चिमा शैलीमा ढालेर नयाँ आयाम दिने काम गुरुङले गरेको अधिकारीको मत छ । उनले भने,‘नेपाली संगीतलाई देख्ने गरी सतहमा अम्बर गुरुङले ल्याउनुभयो । नेपाली आधुनिक संगीतमा उहाँको योगदान विशेष छ ।’ नेपाली संगीतमा तीन वटा चुलीहरुमा अम्बर गुरुङ, गोपाल योञ्जन र नातीकाजीका रुपमा राख्न सकिने उनले सुनाए ।
राजा महेन्द्रले नेपाल ल्याएपछि गुरुङलाई प्रज्ञा प्रतिष्ठानमा जागिरे बनाएर सजाउने काम गरे भनेर संगीत क्षेत्रकै सर्जकहरुको यदाकदा गुनासो सुनिन्छ । संगीत–नाट्यमा कुलपतिकै रुपमा खडा भएपनि उनले आफ्नो अर्केष्ट्राको सपना पूरा गर्न सकेनन् । राष्ट्र गानमा धुन भरेपछि ‘राष्ट्र गायक’को सम्मान पाउने उनको अर्काे सपना थियो ।
त्यो सपना पनि अधुरै छोडेर उनी सधैंका लागि बिदा भए । राष्ट्र गानमा एकल संगीतकार र प्रतिष्ठानको कुलपतिकै पद दिएर पनि गुरुङको सम्मान राज्यले गरेको अधिकारीको ठम्याइ छ । नेपाली संगीत क्षेत्रले गुरुङको योगदानको कदर र सम्मान गरिरहेको उनी सुनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया