मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संगीत

गुञ्जिन छाडे राष्ट्रिय भावनाले ओतप्रोत गीत

राष्ट्रिय गीतले बढाएको थियो नेपालीबीच आत्मीयता

काठमाडौँ– साठीको दशकअघिसम्म राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु रेडियो नेपालको शर्ट वेभ र मिडियम वेभ हुँदै दूर दराजका गाउँ गाउँमा गुञ्जिन्थे । विद्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा ‘पश्चिम कोही पूर्व घर’, गाउँछ गीत नेपाली, यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जस्ता देशभक्तिका गीतहरु बज्थे ।

ती गीतमा देशको गाथा र हिमालका गौरवका सन्दर्भ समेटिएका हुन्थे । नेपाललाई सिङ्गो नेपालीको साझा आँगन हो भनेर बुझाइन्थ्यो । विभिन्न महोत्सव तथा कन्सर्टमा पनि कलाकारले जोशका साथ गाउँथे– रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो ।

दर्शकले पनि हूटिङ गरेर साथ दिन्थे । वान्स मोर भन्थे ।

केही वर्षअघिसम्म पनि गीत संगीतमार्फत पूरै नेपालीलाई एक जुट हुन आह्वान गरिन्थ्यो । तत्कालीन सरकारले नै त्यस्ता गीतलाई बढी प्राथमिकता दिन्थ्यो र सर्जकले पनि राष्ट्रिय गीतलाई बढी महत्त्व दिन्थे ।

त्यसो त नेपालमा गीतसंगीतबाटै आम जनतालाई जागृत गराउने काम पञ्चायत कालबाट शुरुवात भएको थियो । जनतालाई पञ्चायतको समर्थनमा ल्याउन यस्ता राष्ट्रिय भक्तिका गीतहरू जनतामाझ पुर्‍याइएको कतिपयको तर्क छ । उद्देश्य जे भए पनि त्यो समयमा राष्ट्रिय गीतहरू हिमालदेखि तराईसम्म गुञ्जिन्थे । र, ती गीतले नेपाली मनलाई एउटै कडीमा बाँधेको थियो ।

सूचना प्रविधिको विकाससँगै रेडियो तथा टेलिभिजनका विकल्पमा सामाजिक सञ्जाल, एफएम रेडियो तथा अनलाइन मिडियाको उदय भयो । अझ हात हातमा मोबाइल पुगेपछि रेडियोको क्रेज ह्वात्तै घट्यो । गाउँमा रेडियो सुन्ने स्रोताहरु अनलाइन मिडियामा गीत सुन्न मात्र होइन, हेर्न पनि थाले । यो माहोलमा संगीतका सर्जकहरु समेत सुनिने गीतभन्दा हेर्ने खालको सिर्जनातिर लागेपछि देशभक्तिका गीतहरु त्यसै ओझेलमा परे ।

अर्कातिर २०६२/६३ पछि आएको राजनैतिक परिवर्तनपछि राष्ट्रिय गीत निर्माणमा सरकारले पनि सक्रियता देखाएन ।

पछिल्लो समयलाई नियाल्ने हो भने त्यस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु निकै न्यून मात्र सुनिन थालेका छन् । विद्यालय तथा सार्वजनिक कार्यक्रममा समेत राष्ट्रिय गीतको साटो ‘अरेली काँडैले’ जस्ता गीतमा नृत्य प्रस्तुत गर्न थालिएको छ ।

पञ्चायती व्यवस्था ताका गीतमार्फत जनतामा देशभक्तिको भावना जगाउने गरिएको गीतकार राजेन्द्र थापा स्मरण गर्छन् । उनका अनुसार देश भनेको आमा हो भन्ने भावले जनतालाई भावुक बनाउने गरिन्थ्यो । सीमाना, किल्ला, काँगडा, मेची, महाकाली र हिमालका गौरवका कुराले जनता जागरुक हुन्थे ।

रेडियो नेपालमा त्यस्तै गीतहरु प्राथमिकतामा पर्थे । रेडियो सुन्ने स्रोताका लागि राष्ट्रिय भावनाले ओतप्रोत गीतले छुट्टै किसिमको ऊर्जा दिने संगीतका स्रष्टाहरुको अनुभव छ । नेपाल टेलिभिजनको स्थापना भएपछि देशभक्तिका गीतहरु नै बढी प्रसारण हुन्थे ।

नेपाली संगीतले आफ्नै धार समाउन खोजिरहेको कालखण्डमा गोपाल योञ्जन जस्ता सर्जकको आगमनले देशभक्तिका गीतहरुमा अझै टेवा पुर्‍यायो । ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाऊ’ जस्ता गोपाल योञ्जनका गीतहरु राष्ट्रिय स्वाभिमानका भावनाले ओतप्रोत छन् । त्यो समयमा थुप्रै सर्जकले राष्ट्रिय गीत सिर्जना गरे । र, ती गीतले पनि धेरैभन्दा धेरै महत्त्वका साथ स्थान पाए ।

पछिल्लो समय भने बरु विकृति र विसङ्गति भरिएका गीतहरूले चर्चा पाए पनि राष्ट्रिय गीतहरू भने उत्पादन समेत भएका छैनन् । यसको प्रमुख कारण बजारको ‘बिकाउ माग’ भएको गीतकार थापाको बुझाइ छ । थापाका कैयौं राम्रा देशभक्तिका गीतहरु पनि ओझेलमा परेको उनको दाबी छ ।

‘गीतहरु जति नै राम्रा भए पनि अहिले कसैले सुन्दैनन् । गीतहरुले राष्ट्र भावना जगाउनु त राम्रै हो, कसैले नसुनेपछि चल्न छोडे । मेरा पनि कति गीतहरु कतै सुनिँदैनन्’, उनले गुनासो गरे ।

प्रेमध्वज प्रधानको ‘यो नेपाली शिर उचाली’, गोपाल प्रसाद रिमालको शब्दमा गायक किरण प्रधान, रविन शर्मा र सुनिता सुब्वाको श्वरमा रहेको ‘रातो र चन्द्र सुर्य’, राजेश पायल राईले गाएको ‘जाग लम्क चम्क हे’ जस्ता गीतहरु अहिले सिर्जना त भएका छैनन् नै । गुञ्जिन पनि छाडेका छन् ।

पछिल्लो समय राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीतहरु कमै सुनिन थालेको स्वयम् गीत संगीतका स्रष्टाहरु नै स्वीकार्छन् ।

समय परिवर्तन भएसँगै गीतसंगीत सुन्ने र सुनाउने शैलीमा नै फरक भएकोले राष्ट्रिय गीतहरु कम सुनिन थालेको स्रष्टाहरुको बुझाइ छ ।

संगीतकार राजु सिंह देशप्रतिको माया प्रत्येक नागरिकमा हुने धारणा राख्छन् । उनका अनुसार देशको सामाजिक संरचना, राजनीतिक व्यवस्था, देशमा उत्पन्न भएका विभिन्न समस्याका कारण देशभक्तिका सिर्जनामा कमी आएको छ ।

‘राष्ट्रिय गीतहरुको उत्पादनमा त्यस्तो कमी त आएको होइन तर यसलाई मिडियाहरुले भने कम स्थान दिएका छन्’, सिंहले जोय नेपालसँगको कुराकानीमा भने, ‘पहिले टिभी, रेडियोहरुमा राष्ट्रिय गीतहरु प्रसारण गर्ने निश्चित नै हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन, यसकारण पनि कमै सुनिएको जस्तो लागेको हो ।’

उनकै भनाइलाई सही थप्दै अर्का गीतकार श्याम तमोट पनि राष्ट्रिय गीतहरुको उत्पादनमा त्यति कमी नआएको धारणा राख्छन् । ‘गीतहरुको उत्पादनमा त्यति कमी आएको भन्न त मिल्दैन तर तिनको प्रचारमा चाहीँ कमी भएको हो’ उनले भने ।

अहिले धेरै रेडियोहरु व्यावसायिक रुपमा चल्ने भएकोले पनि राष्ट्रप्रेम भरिएका गीतहरुलाई स्थान नदिने प्रवृत्ति बढेको उनको बुझाइ छ ।

अर्कोतिर संगीत अहिले सुन्ने भन्दा पनि हेर्नेतिर फड्को मारेको छ । यसले गर्दा संगीत सिर्जनामा आर्थिक भार उत्तिकै बढ्दो छ । राष्ट्रिय गीतहरुको उत्पादन कम हुनुमा स्रष्टा सर्जकहरुको आर्थिक अवस्था पनि मुख्य कारण भएको तमोट सुनाउँछन् ।

‘एउटा गीत रेर्कड गर्नका लागि धेरै खर्च लाग्छ, गीतहरुको भिडियो बनाउन छुट्टै खर्च लाग्छ, गीतकार तथा संगीतकारहरु आर्थिक रुपले बलियो नभएकाले यस्ता गीतहरुले प्रयाप्त स्थान नपाएका हुन्,’ उनले भने ।

संगीत बजारमा ‘भाइरल’को होडबाजीले सिर्जना व्यापारको प्रतिस्पर्धामा जानु अर्काे कारण रहेको स्रष्टाहरुको मत छ । यसले राष्ट्रिय गीतहरुको उचित मूल्यांकन पनि नभएको तमोटको बुझाइ छ ।

त्यसो त नेपालमा संघीय गणतन्त्र आएसँगै ‘बोल्न पाइने’ भन्दै विभिन्न खाले अभ्यास भयो । यो समयमा संगीत क्षेत्रमा पनि विकृति र विसङ्गति भित्रिएको, अर्कातिर स्रोता पनि त्यस्तै भड्किलो विषयतर्फ आकर्षित भएको कतिपयको स्रष्टाको मत छ ।

अहिलेको बजारमा राष्ट्रिय गीतहरु बिक्दैनन् र तिनले कमाइ गर्दैनन् भन्ने मानसिकता आएका कारण यस्ता गीतहरु ओझेलमा परेको सिंहको ठम्याइ छ । उनका अनुसार अन्य गीतहरुको प्रचारका लागि विभिन्न रियालिटी ‘शो’हरु सञ्चालन हुन्छन् । प्रचार–प्रसारमा उत्तिकै खर्च गरिन्छन् । राष्टिय गीतहरुका लागि नै भनेर यस्ता खाले ‘शो’हरु भएको देखिँदैन पाइँदैन । न त सरकारले नै राष्ट्रियतालाई एक जुट गर्न कुनै कदम चालेको नै छ ।

राष्ट्रिय गीतहरु सिर्जनाका लागि राज्यबाट नै लगानी रहनुपर्ने उनीहरुको मत छ । तमोट भन्छन्, ‘राष्ट्रिय गीतसंगीतको प्रवर्धनका लागि सरकारबाट नै पहल हुनुपर्छ, यसले गर्दा यस्ता गीतहरुले स्थान पाउँछन् ।’

गीतसंगीतमा पनि सरकारले निश्चित मापदण्डका आधारमा नियमन गर्नुपर्ने सिंहको सुझाव छ । फिल्मको नियमन गर्नका लागि सेन्सर बोर्डको व्यवस्था गरिएजस्तै गीतसंगीतमा पनि छुट्टै सेन्सर बोर्ड हुनुपर्ने उनी बताउँछन् ।

यता गीतकार थापा सार्वजनिक अधिकांश गीतलाई राष्ट्रियभन्दा पनि प्राकृतिक वा देशभक्तिका गीत भन्न रुचाउँछन् । कुनै पनि सिर्जनाले कुनै समूहको पक्ष विपक्षभन्दा पनि आफ्नो देश र एकतालाई बलियो बनाउने काम गर्नुपर्ने उनको तर्क छ ।

विगतका इतिहासमा राज्य पक्ष होस् या राजनीतिक समूहले राष्ट्रिय गीतका नाममा स्वार्थपूर्ति गर्ने काम गरेको थापाको आरोप छ । उनले प्रस्ट्याए, ‘संगीत कुनै पार्टी र समूहको हुँदैन । यसले विशुद्ध देश प्रेम र भावना बोकेको हुनुपर्छ । यसले कसैको विरोध पनि गर्दैन, अनि मात्र राष्ट्रको गीत बन्छ ।’

अहिले संगीत क्षेत्रमा एक खालको अराजकता उत्पन्न हुँदै गएको नेपाल संगीत तथा नाट्य प्रतिष्ठान अन्तर्गत संगीत विभाग प्रमुख कर्ण गौतम बताउँछन् । यसको नियमनका लागि राज्यको एउटा बलियो निकाय हुनुपर्ने उनको भनाइ छ ।

‘यसका लागि हामी छलफलमा नै छौँ, संगीत नियमन गर्ने नियमन बोर्ड या संगीत सेन्सर बोर्ड हुनसक्छ,’ उनले भने ।

नेपालको मौलिक संस्कृति र संगीतलाई समयअनुसार वैज्ञानिकीकरण गर्न नसक्दा बाह्य संस्कृतिको प्रभाव बढेको उनको तर्क छ । यसले देशका राष्ट्रिय गीतमा प्रभाव पारेको उनी बताउँछन् ।

प्रतिष्ठानको संगीत विभागले अग्रज स्रष्टा, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै राष्ट्रप्रतिको भाव झल्काउने गीतहरुको विकास गर्ने नीति लिइएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?