–प्रदिप रत्न शाक्य
अरे म त परिचय हुँ
भन्न आइरहेको छु ।
ती बग्दै गरेका
दिन,रात,साँझ ,बिहान हुँ भन्न
आइहेको छु ।
तिम्रा आँखाले देखिरहेका
गोरेटो, घोरेटो ,सडक ,भीर,पाखा ,जङ्गल हुँ भन्न
आइरहेको छु ।
खोलो बन्दै
बहावहरूको तस्वीर खोजिरहने
भावनात्मक संबन्ध हुँ
भन्न आइरहेको छु ।
म भन्नुको आशय
वैचारिक धार नै हुन् भनिरहने
कहानी हुँ भन्न आइरहेको छु ।
म ,म भन्ने कलात्मक
आत्मियताको सौंदर्य हुँ
म सृजनात्मक आवरणहरूको
आकर्षण हुँ
त्यसैले म दृष्टिकोण हुँ भन्न आइरहेको छु ।
म मान्छेको मानवता हुँ
म मेरो भन्ने मस्तिष्कको धार हुँ
म तिम्रो भन्ने मनको डोब हुँ
म उसको भन्ने छायाँको आभास हुँ
म त्यसको भन्ने कल्पनाको अनुभूति हुँ
मलाई मात्र आत्मीयताको
मधुर तृष्णा भएर भोग्नू !
म ,म भएर हाँस्न सकुँ !
होसियार !
कुनै म कुरुक्षेत्रको
धराशायी सेल्फी नबनुन् !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया