काठमाडौं- मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो ।
थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले रु ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए । “म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ ।”
कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खाेंचमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।
स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउँरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । पुल निर्माणका लागि स्वाप कार्यक्रमले रु ३४ लाख ७५ हजार पाँच सय १५, गाउँपालिकाले रु पाँच लाख ८९ हजार एक सय ७३, टिबिएसयुले रु तीन लाख ८६ हजार सात सय ७४ सहयोग र उपभोक्ताले रु ९० हजार छ सय ४२ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया