ललितपुर। पाटन औद्योगिक क्षेत्रमा बढ्दो उद्योग विस्तार, प्रदूषण तथा ऐतिहासिक पानीका मुहानमाथि भइरहेको निर्माणप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार सांसद इन्दिरा रानामगरले पाटन औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीयसँग छलफल गरेकी हुन्।
स्थानीयवासीका अनुसार औद्योगिक क्षेत्रमा पछिल्लो समय कारखानाहरू तीव्र रूपमा विस्तार भइरहेका छन्, जसका कारण वातावरणीय प्रदूषण बढ्दै गएको छ। उद्योगबाट निस्किने धुवाँ, फोहोर तथा रासायनिक प्रभावले स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ।
स्थानीयहरूले ऐतिहासिक महत्व बोकेको पाटनको प्रसिद्ध सुनधारा तथा सिंचाहिटी ढुंगेधाराको पानीको मूल स्रोत माथिसमेत भवन निर्माण भइरहेको बताएका छन्। उनीहरूका अनुसार अनियन्त्रित निर्माण र उद्योग विस्तारका कारण परम्परागत पानीका स्रोत जोखिममा परेका छन्।
स्थानीय बासिन्दाले यस विषयमा पटक–पटक स्थानीय सरकारसमक्ष आवाज उठाए पनि हालसम्म कुनै प्रभावकारी कदम नचालिएको गुनासो गरेका छन्। साथै, उद्योगहरूले सडक व्यवस्थापनसम्बन्धी नियमसमेत पालना नगरेको उनीहरूको आरोप छ।
स्थलगत अवलोकनपछि सांसद इन्दिरा रानामगरले प्रदूषण गम्भीर चिन्ताको विषय भएको बताइन्। उनले वातावरणमा परेको असरका विषयमा सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाइन्।
उनले उद्योग व्यवस्थापन टोलीसँग पनि छलफल गर्दै प्रदूषण नियन्त्रणका लागि वैकल्पिक उपाय खोज्न आग्रह गरेकी छन्। “म विकासको विरोधमा छैन, तर प्रदूषण स्वीकार्य छैन। यसले स्थानीयवासी र वातावरणमा असर गरिरहेको छ,” उनले भनिन्।
सांसद मगरले उद्योग विस्तारसँगै वातावरण संरक्षण र स्थानीय समुदायको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताइन्।
स्थानीयवासीहरूले भने प्रदूषणले वातावरणलाई बिस्तारै विषाक्त बनाइरहेको र उद्योगहरूले क्रमशः जमिन अतिक्रमण गर्दै क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन गरिरहेको चिन्ता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया