मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?

काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन्। गत वर्ष पूर्णबहादुरको सारङ्गीले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ।

कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब रु १७ करोडको व्यापार गरेको छ।

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा रु १६ करोड  ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ। बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्। नीर शाह, मदनकृष्ण श्रेष्ठजस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन्। चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकार पनि छन्।

साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र जेरी अन टप ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै रु १२ करोड २६ लाख ६ हजार २४० को व्यापार गरेको छ। अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।

कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र जारी २ : सङ अफ च्याब्रुङ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी रु ६ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ। दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गरेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ। यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ।

बाल गायकका रूपमा परिचित अशोक दर्जीको जीवनीमा आधारित चलचित्र मनबिनाको धन ले सोही अवधिसम्म रु तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ। टंक बुढाथोकीले निर्देशन गरको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन्। गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुंगाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन्।

यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र हर्षले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ। एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन्।चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?