काठमाडौं। बलिउड अभिनेत्री क्याट्रिना कैफ आमा बन्ने भएकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफू गर्भवती भएको घोषणा गरेकी हुन्। उनका पति तथा अभिनेता विक्की कौशलसँगको वैवाहिक जीवनको झण्डै तीन वर्षपछि दम्पती पहिलो सन्तानको आगमनको तयारीमा छन्।
क्याट्रिनाले इन्स्टाग्राममा ‘बेबी बम्प’ देखिने तस्बिर सार्वजनिक गरेकी छन्। सो तस्बिरमा विक्की उनलाई अँगालो हालेर बसेका छन्। तस्बिरसँगै उनले लेखेकी छन्, “हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा मायालु अध्याय सुरु गर्ने बाटोमा छौं। ओम।”
यो घोषणा सार्वजनिक भएपछि फिल्म क्षेत्रका व्यक्तित्वहरू र प्रशंसकहरूले दम्पतीलाई बधाई दिइरहेका छन्। अभिनेत्री जान्हवी कपूर, निर्देशक जोया अख्तर, भूमि पेडनेकर, आयुष्मान खुराना, सिद्धान्त चतुर्वेदी लगायत थुप्रै कलाकारहरूले कमेन्टमार्फत दम्पतीप्रति खुसी व्यक्त गरेका छन्।
क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बर २०२१ मा राजस्थानस्थित एक निजी रिसोर्टमा भव्य समारोहबीच विवाह गरेका थिए। विवाहपछिको समयदेखि नै उनीहरू बलिउडको चर्चित र लोकप्रिय जोडीमध्ये गनिन थालेका हुन्।
हाल विक्की कौशल ‘छावा’ फिल्ममार्फत आफ्नो अभिनयको प्रशंसा बटुलिरहेका छन् भने क्याट्रिना कैफ ‘टाइगर ३’ जस्ता फिल्मबाट बलिउडमा आफ्नो सशक्त उपस्थिति कायम राखिरहेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया