काठमाडौं। नेपाली भान्सामा दैनिक प्रयोग हुने बेसार (हल्दी) केवल मसलाको रूपमा मात्र होइन, एक प्राकृतिक औषधिको रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको विभिन्न अध्ययनहरूले प्रमाणित गरेका छन्। यद्यपि यसको औषधीय गुणबारे धेरैलाई अझै पनि पूर्ण जानकारी छैन।
तरकारीलाई आकर्षक बनाउने, स्वाद थप्ने र तातोपन दिने बेसारलाई प्राचीन आयुर्वेदले कुष्ठघ्न, व्रणशोधन, रक्तशुद्धि लगायतका रोगहरूको उपचारमा प्रभावकारी औषधि मानेको छ। बेसारको प्रयोग विशेषगरी मधुमेह, चर्मरोग, मूत्ररोग, रक्तअल्पता, शीतपित्त, बाथ र पिसाबमा रगत देखिने समस्यामा उपयोगी मानिन्छ।
विशेषगरी नेपाल, भारत र चीनमा पाइने बेसारको बिरुवा २–३ फिट अग्लो हुने बहुवर्षे वनस्पति हो। यसको पात आँपको जस्तो गन्ध आउने र गानो (जरा) अदुवाको जस्तै देखिने तर पहेँलो रंगको हुन्छ। यही गानोको चूर्ण वा रसलाई मसलाका साथै औषधीय रूपमा प्रयोग गरिन्छ।
बेसारमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, क्याल्सियम, गम, स्टार्च लगायतका पोषक तत्त्व पाइन्छन्। यसको सबैभन्दा महत्त्वपूर्ण रासायनिक तत्त्व करक्युमिन हो, जुन एन्टीअक्सिडेन्ट र एन्टी–इनफ्लामेटरी गुणले भरिपूर्ण हुन्छ। यसले शरीरमा हुने सूजन रोक्न, क्यान्सर फैलिन नदिन, ब्याक्टेरिया र भाइरससँग लड्न सहयोग पुर्याउने वैज्ञानिक अनुसन्धानहरूमा देखिएको छ।
बेसारले रक्तनलीमा जम्ने कोलेस्ट्रोल कम गर्न, छालाको रोगहरूमा बाह्य तथा आन्तरिक प्रयोगमा पनि उत्तिकै प्रभावकारी मानिएको छ। यसको नियमित सिमित मात्राको सेवनले शरीरलाई दीर्घकालीन रूपमा लाभ पुर्याउने बताइन्छ।
प्रयोगको मात्रा कति ?
चूर्णका रूपमा: १–३ ग्राम प्रतिदिन
रसका रूपमा: १०–२० मिलिलिटर
पकाएर खाने परिकार वा पेयमा: ३–५ ग्रामसम्म
तर, मृगौला वा पित्तथैलीमा पत्थरी हुने व्यक्तिहरूले भने सावधानी अपनाउनुपर्ने औषध विज्ञहरूको सुझाव छ। बेसारमा क्याल्सियमको मात्रा उच्च हुने भएकाले पत्थरीको जोखिम बढ्न सक्छ।
स्वास्थ्य लाभ लिन चाहनेहरूका लागि विशेषज्ञको सुझाव के हो भने, बेसारलाई औषधिका रूपमा प्रयोग गर्नु पूर्व चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया