काठमाडौँ – हलिउडको चर्चित हरर फिल्म फ्रेन्चाइज ‘द कन्जुरिङ’ को अन्तिम श्रृंखला ‘द कन्जुरिङ: लास्ट राइट्स’ ले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ।
माइकल चाभेस निर्देशित यो फिल्ममा प्याट्रिक विल्सन र भेरा फार्मिगाको मुख्य अभिनय रहेको छ। प्रदर्शनको पहिलो सप्ताहन्तमै फिल्मले हरर विधामा दोश्रो सबैभन्दा ठूलो ओपनिङ कलेक्सन गर्न सफल भएको छ।
फिल्मले विश्वव्यापी रूपमा पाँच दिन लामो पहिलो सप्ताहन्तमा १८७ मिलियन अमेरिकी डलरको कमाइ गरेको हो।
घरेलु बजार (अमेरिका र क्यानडा) बाट मात्र ८३ मिलियन डलर संकलन भएको छ भने, अन्तर्राष्ट्रिय बजारबाट १०४ मिलियन डलरको प्रभावशाली कमाइ गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
यससँगै ‘लास्ट राइट्स’ अन्तर्राष्ट्रिय बजारमा पहिलो सप्ताहन्तमै १०० मिलियन डलर पार गर्ने पहिलो हरर फिल्म बनेको छ।
विश्लेषकहरूका अनुसार, फिल्मको सफलताले दर्शकहरूबीच हरर विधाको लोकप्रियता अझै कायम रहेको पुष्टि गरेको छ। ‘द कन्जुरिङ युनिभर्स’को अन्तिम अध्याय मानिएको यो फिल्मलाई विश्वभरका दर्शकले रुचाएका छन्।
नेपालका विभिन्न सिनेमा हलहरूमा समेत ‘द कन्जुरिङ: लास्ट राइट्स’ प्रदर्शनमा रहेको छ, जहाँ नेपाली दर्शकहरूले पनि फिल्मको कथावस्तु र प्रस्तुतिलाई सराहना गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया