काठमाडौँ – क्रोएसियाका विश्वप्रसिद्ध सेलोवादक स्टेपन हाउसरले नेपाली गीत ‘रुकुम मैकोट’को सेलो कभर गरेका छन्। चलचित्र ‘खुस्मा’ मा समावेश उक्त गीतको कभर भिडियो उनले छोटो रूपमा तयार पारेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्।
टू सेलोस (2CELLOS) नामक चर्चित साँगीतिक समूहका सदस्य रहेका हाउसरले पहिलोपटक नेपाली गीतको धुनलाई सेलोमा उतारेका छन्। सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा उनले ‘रुकुम मैकोट’ को धुनलाई भावनात्मक शैलीमा प्रस्तुत गरेका छन्।
संगीतकार एसडी योगी द्वारा संगीतबद्ध ‘रुकुम मैकोट’ नेपाली युट्युब इतिहासमै सबैभन्दा छिटो १० करोड भ्युज पार गर्ने गीत बनेको थियो। गीतले लामो समय युट्युबको ग्लोबल ट्रेन्डिङ मा समेत स्थान बनाएको थियो।
हाउसरले टू सेलोसको सदस्यका रूपमा लन्डनको रोयल अल्बर्ट हल, न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेन र सिड्नीको ओपेरा हाउस लगायत विश्वका प्रतिष्ठित कन्सर्ट स्थलहरूमा प्रस्तुति दिइसकेका छन्। हाल उनी एकल संगीत यात्रामा सक्रिय छन्।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संगीतकारद्वारा नेपाली धुनमा यस्तो प्रस्तुति हुनु नेपाली संगीतका लागि गौरवको विषय भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया