काठमाडौं- अभिनेता दयाहाङ राईले आफूले अभिनय गरेको नयाँ फिल्म‘रिमै’लाई कतिपयले कबड्डीसँग तुलना गरे पनि यो बिल्कुल फरक कथा भएको बताएका छन् ।
प्रचार सामग्री सार्वजनिक भएपछि धेरैले यसलाई कबड्डी सिरिजसँग जोडेर टिप्पणी गरेका थिए । तर दयाहाङका अनुसार ‘रिमै’ले गुरुङ समुदायको कला, संस्कार, भेषभूषा र जीवनदर्शनलाई प्रस्तुत गर्नेछ ।
उनले स्पष्ट पार्दै भने, “फिल्ममा सोल्टा–सोल्टिनीको प्रेम कथा देखाइए पनि यो कबड्डीसँग कुनै मेल छैन । सम्बन्ध बोलाउने नाम मात्रै उस्तै हो, तर कथा, प्रस्तुति र सन्देश एकदमै फरक छन् ।”
यस फिल्ममा दयाहाङसँगै अभिनेत्री रिश्मा गुरुङ मुख्य भूमिकामा छिन् । उनले करिब दशकपछि अभिनयमा फर्किँदै ‘रिमै’ रोजेकी हुन् । रिश्माले भनिन्, “यो मेरो समुदायकै कथा भएकाले मैले काम गर्ने निर्णय गरेँ । यदि अरू विषयमा आधारित कथा भएको भए म संलग्न हुने थिइनँ ।” उनका अनुसार, आफ्नै बुबा–बाजेले सिकाएका संस्कारलाई उजागर गर्ने भएकाले व्यस्ततालाई बेवास्ता गर्दै फिल्ममा खेलेकी हुन् ।
फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुतिमा र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको ‘रिमै’ आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङसहित बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ ।
पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका हुन् । फिल्मका कार्यकारी निर्माता वीरवल घले रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता हुन् । साथै, बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सहनिर्माता रहेका छन् ।
संगीतमा दीपक शर्मा र थानेश्वर गौतम, सम्पादनमा मित्र डी गुरुङ, र सहायक निर्देशनमा किरण चाम्लिङ राई रहेका छन् । फिल्मको प्रोडक्सन म्यानेजर विष्णु मैनाली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया