मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नायिका रेखा थापा, “तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो”

काठमाडौँ – नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्।

उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकतालाई जरैबाट उखेल्ने अवसर पाउँछन्,” थापाले बताइन्।

तीजको मौलिक मूल्य, संस्कृति र संस्कारको संरक्षणमा जोड दिँदै उनले भड्किलो खर्चभन्दा यसको सकारात्मक पक्षसँग नजिक भएर भव्य तर सादगीपूर्ण ढंगले मनाउन सबैलाई आग्रह गरेकी छिन्। विदेशमा रहेका नेपाली महिलालाई समेत लक्षित गर्दै उनले हरितालिका तीजको शुभकामना दिएकी छिन्।

थापाले ‘हिरो’ चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। पहिलो चलचित्रबाटै दर्शकमाझ पहिचान बनाउन सफल उनी त्यसयता कसले चोर्यो मेरो मन, हिफाजत, काली, हिम्मतवाली लगायत दर्जनौँ हिट चलचित्रमा अभिनय गर्दै नेपाली सिनेमाको लोकप्रिय अनुहार बन्न सफल भएकी छिन्।

ग्ल्यामर र स्टारडमले चर्चामा ल्याएकी थापा पछिल्ला वर्षमा सामाजिक अभियन्ता र राजनीतिमा समेत सक्रिय छिन्। महिला अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका विषयमा मुखर अभिव्यक्ति दिने उनी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक प्रभावशाली महिला कलाकारमध्ये एक मानिन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?