काठमाडौँ– दिप्ती श्रेष्ठ र सुप्रिता गुरुङका लागि आज खुशीको दिन हो । यी दुईले आजैका दिन आफ्नो प्रेम सम्बन्धलाई आधिकारिक रुपमा विवाहमा परिणत गरेका छन् ।
दिप्ती र सुप्रिता दुवै उमेरले ३३ वर्ष पुगे । उनीहरुले बर्दियाको बढैयाताल गाउँपालिकाबाट आज (सोमवार) औपचारिक विवाहको प्रमाणपत्र समेत लिए ।
गाउँपालिकाका वडा सचिव दीपक नेपालीका अनुसार दुवैको कानूनी विवाह दर्ता माघ २८ गते आइतवार प्रक्रिया अनुसार नै भएको थियो । आज (सोमवार) उक्त जोडीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
स्थायी घर स्याङ्जा भए पनि बुटवलमा बस्दै आएकी दिप्तीले सामाजिक सञ्जालमार्फत भेटेकी थिइन् सुप्रितालाई । तनहुँ हुँदै नेपालगञ्ज पुगेकी सुप्रिता हाल बेलायतमा बस्दै आएकी छिन् । यतिबेला उनी दिप्तीसँग विवाह गर्नका लागि नेपाल आएकी हुन् ।
दुवैको चिनजान पाँच वर्षअघि भएको थियो । सामाजिक सञ्जालमा साथी बनेका उनीहरू च्याटमा कुराकानी गर्दा आ–आफ्नो पहिचान, रुचि र व्यवहार एकअर्कालाई बाँड्दै जाँदा मनमा प्रेम उब्जिएको दिप्ती बताउँछिन् ।
जोय नेपालसँगको कुराकानीमा दिप्तीले भनिन्, ‘उमेर बढ्दै गएपछि आफू अरु महिलाभन्दा फरक छु भन्ने लाग्यो, शुरुमा यही कुरा मैले आफ्नो परिवारलाई पनि भन्न सकिनँ ।’
दिप्ती सानैदेखि केटी साथीहरु बनाउन रुचाउँथिन् । घरमा पनि केटी साथीहरु नै बढी लिएर जान्थिन् । उनको यो व्यवहारलाई परिवारले साथीकै मात्र दायरामा राखेर हेरे । उमेर बढ्दै गएपछि आफू अरु महिलाभन्दा फरक छु भन्ने महसुस गरिन् उनले । जुन कुरा परिवारलाई कहिल्यै व्यक्त गर्न सकिनन् ।
जब आफूजस्तै सुप्रिता उनको जीवनमा आइन्, त्यसपछि भने उनलाई संसार जितेजस्तो भयो ।
यता सुप्रिताको कथा पनि दिप्तीको जस्तै थियो ।
‘बिहे गर्ने उमेर भएपछि घरमा केटाहरु माग्न र हेर्न आउँथे’, दिप्तीले जोय नेपालसँग कुराकानीमा भनिन्, ‘मेरो बारेमा आमालाई पनि थाहा थिएन, त्यतिबेला साह्रै गाह्रो भएको थियो ।’
दुवैका भोगाइका कथा लगभग समान थिए । उस्तै पीडा, उस्तै सोचाइ र उस्तै चाहनाबीच दुवैले सधैंका लागि सम्बन्धको डोरी नै कस्ने निधो गरे । उनीहरू सन् २०१९ देखि सँगै बस्दै आएका थिए ।
यी दुईको साथलाई परिवारले मित्रताका रुपमा लिए । दिप्तीले भने सुप्रितालाई श्रीमतीका रुपमा स्वीकार गरिसकेकी थिइन् ।
पछि यही कुरा दिप्तीले आमालाई भनिन् । दिप्तीको कुरा सुन्दा आमालाई सहज लाग्ने कुरै थिएन । नेपाली समाजले के भन्ला भनेर परिवारले पनि यो सम्बन्धलाई सहजै स्वीकार गरेको थिएन । तर, दिप्तीको जिद्दीका अगाडि परिवारको पनि केही लागेन ।
‘परिवार मनाउन त कहाँ सजिलो थियो र? उहाँहरूले पनि अनेक कुरा सोच्नुपर्छ तर मैले मेरो परिवारलाई मनाएरै छाडेँ, त्यो बेला मानसिक तनाव पनि धेरै भएको थियो’ दिप्तीले सुनाइन् ।
दिप्तीले त आफ्नो परिवारलाई मनाइन् तर सुप्रितालाई पनि आफ्नो कुरा परिवारमा भन्नुपर्ने थियो । सुप्रिताकी आमाले पनि शुरुमा यो सम्बन्धलाई मानिनन् । तर, प्रेम त आखिर प्रेम नै हो । सुप्रिताको परिवार पनि बिहेका लागि राजी भयो ।
‘मायामा कुनै लिङ्ग, जात, रुप, धर्म र समुदाय हुँदैन, मनले चाहेको प्रेममा कुनै थुनछेक हुँदैन,’ दिप्तीले भनिन् ।
आफ्नो प्रेमलाई विवाहमा बदल्न यी दुईलाई सहज भने थिएन । यसका लागि उनीहरूले कानूनी प्रक्रिया पनि अगाडि बढाएका थिए । अन्तत: यी दुई दक्षिण एसियामै पहिलो बिहे दर्ता गर्ने महिला ‘समलिंगी जोडी’ बने ।
‘माया एक अर्काका लागि विश्वास र अगाडि बढ्ने आधार हुन्’, जोय नेपालसँगको कुराकानीमा दिप्तीले सुनाइन् ।
प्रमाणपत्र हातमा लिएपछि विवाहको पहिचान नै पाएकोमा सुप्रिता अझै उत्साहित छिन् । जुन खुसी उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाइन् ।
‘हामीले एक–अर्काको दुःखमा साथ दिने वाचा गरेका छौँ, मैले आफूलाई उहाँ (दिप्ती) को वाइफको रुपमा स्वीकार गरिसकेँ,’ उनले भनिन् ।
माया गर्ने जोडीहरुका लागि यो प्रेमलाई ज्वलन्त उदाहरणका रुपमा संसारलाई देखाउन चाहने सुप्रिता बताउँछिन् ।
अहिले उनीहरुको यो हिम्मतलाई दुवैका परिवारले खुलेर साथ दिएका छन् ।
केही दिनमै सुप्रिता बेलायत जाँदैछिन् । केही समयपछि दिप्तीलाई पनि उतै लैजाने उनको योजना छ । भौतिक शरीरबाट टाढा भए पनि आत्मीय रुपमा उनीहरु सधैं साथ रहने दुवैको प्रण छ ।
यो विवाहलाई प्रेमको क्रान्तिकै स्वरुपमा लिइएको राजनीतिज्ञ, अधिकारकर्मी तथा नील हीरा समाजका संस्थापक अध्यक्ष सुनीलबाबु पन्त बताउँछन् ।
‘प्रेम गर्नु कुनै अपराध होइन, आफ्नो मायालाई लुकाएर राख्ने होइन, संसारलाई देखाउनुपर्छ, दिप्ती र सुप्रिताको प्रेम सबैका लागि हिम्मत हो,’ उनी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया