काठमाडौँ- इलाममा साउनको पहिलो हप्तादेखि सुरु भएको नेपाली फिल्म ‘मैझारो’ अहिले अन्तिम छायांकन चरणमा पुगेको छ।
निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भइरहेको यो फिल्मले पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयता पर्दामा उतार्ने उद्देश्य राखेको छ।
फिल्मको छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका विभिन्न रमणीय स्थलमा गरिएको हो। कथा तथा पटकथा निर्देशक राईले स्वयं लेखेका छन्। उनका अनुसार, दर्शकले फिल्ममार्फत फरक स्वाद र अनुभूति पाउनेछन्।
मौलिक प्रेमकथामा आधारित ‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय देख्न पाइनेछ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ भने राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेको यस फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया