काठमाडौँ – बलिउड अभिनेता सुनील शेट्टीले आज (अगस्ट ११) आफ्नो ६४ औँ जन्मदिन मनाइरहेका छन्। तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय शेट्टी फिल्मसँगै व्यवसायिक क्षेत्रमा पनि सफल मानिन्छन्।
शेट्टीले १९९२ मा ‘बलवान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसयता उनले ‘बोर्डर’, ‘गोपी किशन’, ‘दिलवाले’, ‘रक्षक’, ‘भाई’ लगायत सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। एक्सन हिरोको छवि बनाएका शेट्टीले खलनायकको भूमिकामा समेत दर्शकको मन जितेका छन्।
विभिन्न सञ्चारमाध्यमका अनुसार उनको कुल सम्पत्ति करिब १२५ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। अभिनयबाहेक उनले फिल्म निर्माण, होटल व्यवसाय, स्टार्टअप लगानी र रियल स्टेट लगायत क्षेत्रमा लगानी गरेका छन्।
उनको पपकर्न इन्टरटेनमेन्ट नामक फिल्म प्रोडक्सन कम्पनी छ भने मुम्बईलगायतका स्थानमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन्। उनले पुणेस्थित स्क्वाट्स नामक अनलाइन स्वास्थ्य तथा फिटनेस स्टार्टअपमा समेत लगानी गरेका छन्। साथै, आफ्नी पत्नी मानासँग मिलेर उनले रियल इस्टेट र लाइफस्टाइल व्यवसाय पनि सञ्चालन गर्दै आएका छन्।
बलिउडमा ‘अन्ना’ को रूपमा चिनिने शेट्टी हाल व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय छन्। उनको जन्मदिनका अवसरमा फ्यानहरू सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया