वासिङ्टन डीसी- अमेरिकी अभिनेत्री केली म्याकको ३३ वर्षको उमेरमा निधन भएको छ। शनिबार सिनसिनाटीस्थित आफ्नै घरमा उनले अन्तिम सास लिएको परिवारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
परिवारका अनुसार, उनी केन्द्रीय स्नायु प्रणालीमा देखिने ग्लियोमा नामक दुर्लभ र खतरनाक क्यान्सर रोगबाट पीडित थिइन्। यो रोगले मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर पार्ने गर्छ।
उनकी बहिनीले अगस्ट ५ मा सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक गरेकी थिइन्। केली म्याकको निधनको खबर सार्वजनिक भएसँगै अमेरिकी मनोरञ्जन उद्योगमा शोकको लहर फैलिएको छ।
केलीले अभिनयमा सानो उमेरदेखि नै रुचि राख्थिन्। उनी हिन्सडेल सेन्ट्रल हाई स्कूलकी विद्यार्थी रहँदा अभिनयको सुरुवात गरेकी थिइन्। सन् २०१० मा उनले त्यो विद्यालयबाट अध्ययन पुरा गरिन् भने २०१४ मा च्यापम्यान विश्वविद्यालयको डज कलेज अफ फिल्मबाट छायाङ्कनमा स्नातक डिग्री हासिल गरेकी थिइन्।
उनी बाल कलाकारका रूपमा थुप्रै विज्ञापनमा देखिइसकेकी थिइन्। एकपटक जन्मदिनमा सानो भिडियो क्यामेरा उपहार पाएपछि उनको अभिनयमा झनै लगाव बढेको बताइन्छ।
केलीले ‘द एलिफ्यान्ट गार्डेन’ फिल्ममा उत्कृष्ट अभिनय गरेकी थिइन्, जसका लागि उनलाई टिश स्कुल अफ द आर्ट्स बाट पुरस्कार प्राप्त भएको थियो। उक्त फिल्मले २००८ को ट्रिबेका फिल्म फेस्टिभल मा स्टुडेन्ट भिजनरी अवार्ड जितेको थियो।
अभिनयसँगै उनी पटकथा लेखनमा पनि सक्रिय थिइन्। आमा क्रिस्टन क्लेबानोससँग मिलेर उनले ‘अन द ब्ल्याक’ नामक फिल्मको स्क्रिप्ट लेखेकी थिइन्, जुन १९५० को दशकमा कलेज बेसबलमा आधारित कथा थियो र त्यो कथामा उनका हजुरबुबा–हजुरआमाको जीवन पनि समावेश गरिएको थियो।
उनलाई सबैभन्दा बढी दर्शकले ‘द वाकिङ डेड’ र ‘शिकागो मेड’ जस्ता चर्चित सिरिजहरूमा अभिनय गरेबापत चिन्ने गरेका छन्।
केली भ्वाइस आर्टिस्टको रूपमा पनि सक्रिय थिइन्। उनले ओस्कार विजेता एनिमेसन फिल्म ‘स्पाइडर म्यान: इन्टू द स्पाइडर भर्स’ मा समेत आवाज दिएकी थिइन्।
उनी अभिनय र लेखनको माध्यमबाट दर्शकमाझ लोकप्रिय बनेकी थिइन्। उनको असामयिक निधनले फिल्म उद्योगलाई ठूलो क्षति पुर्याएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया