मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धिरज र उपासनाको ‘जलाकी’ असोजदेखि दोस्रो चरणको छायांकनमा

काठमाडौँ- निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली सिनेमा ‘जलाकी’ दोस्रो चरणको छायांकनतर्फ अघि बढ्दैछ। गत चैतमा केही दिन छायांकन भइसकेको यस सिनेमाको बाँकी भाग असोज २१ गतेबाट खिचिने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

हालै राष्ट्रिय चलचित्र पुरस्कारमार्फत ‘खुस्मा’ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी उपासना सिंह ठकुरी ‘जलाकी’ मा मुख्य भूमिकामा देखिँदैछिन्। उनी यसपटक पनि अभिनेता धिरज मगरसँग स्क्रिन सेयर गर्दैछिन्। यो जोडीलाई पछिल्लो पटक ‘खुस्मा’ मा पनि सँगै देख्न सकिएको थियो। यस पटक ‘जलाकी’ मा उनीहरूलाई अभिनेता सोनम तोप्देनले त्रिकोणात्मक प्रेमकथामा टक्कर दिनेछन्।

सिनेमाबाट सोमबार दुई पोस्टर सार्वजनिक गरिएको छ जसमा धिरज मगर र उपासना सिंह ठकुरी प्रस्तुत छन्। त्यस्तै, मिस सिक्किम उपाधि विजेता साहारा हाङमा लिम्बु यो सिनेमामार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

‘जलाकी’ को कथा मगर समुदायको आस्थासँग जोडिएको छ। ‘जलाकी’ भनिने ढुङ्गाले चिनिने एक विशेष स्तम्भ स्मृति र मायाको प्रतीक मानिन्छ। यही भावनात्मक केन्द्रमा आधारित सिनेमामा प्रेम, संस्कार, संघर्ष र संस्कृतिको कथाहरू समेटिनेछन्।

फिल्ममा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर र खड्क बहादुर पुन (खबपु) लगायत कलाकारहरू पनि देखिने छन्। बाँकी कलाकारहरूको छनोट प्रक्रिया अझै चलिरहेको छ।

सिनेमाको छायांकन तीन चरणमा हुने बताइएको छ। रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियाका विभिन्न स्थानहरूमा खिचाइ गरिने यस चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति, पहिचान र परम्परालाई उजागर गर्ने उद्देश्य राखिएको छ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुने ‘जलाकी’ का निर्माता ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

सिनेमाको छायांकन शैलेन्द्र डी कार्कीले गर्नेछन्। राजु रेग्मी मगर लाइन प्रोड्यूसरका रूपमा, महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहने छन्। संगीत एसडी योगी र सरित राईको रहनेछ भने गीतहरू सुरेन्द्र राना र राम अविरल विष्टले लेख्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?