काठमाडौं- निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको बहुप्रतीक्षित सिनेमा ‘झिँगेदाउ २’ को पहिलो गीत रेकर्ड गरिएको छ।
बुधबार राजधानीमा गायिका शान्तिश्री परियार र गायक बसन्त थापाको आवाजमा रहेको ‘आजलाई नाई नभन’ बोलको गीत रेकर्ड गरिएको हो।
गीतमा शब्द, संगीत र एरेञ्ज अर्जुन पोखरेलले गरेका छन्। सिनेमाको छायांकन दशैं–तिहारपछि सुरु हुने तयारी गरिएको छ। निर्देशक देउजाका अनुसार, ‘झिँगेदाउ २’ को कथा पहिलो भागको अन्त्यबाटै सुरु हुने भएकाले यो पूर्ण सिक्वेल हुनेछ।
सिनेमामा प्रमुख भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट दोहोरिने छन्। साथै, एक नयाँ अभिनेता र एक नयाँ अभिनेत्रीको समेत प्रवेश हुने निर्माण टिमले जनाएको छ।
कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमाका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको फिल्ममा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, मित्र डि. गुरुङको सम्पादन रहनेछ।
दर्शकको मन जितेको ‘झिँगेदाउ’को सफलतापछि निर्माण हुन लागेको ‘झिँगेदाउ २’ प्रति दर्शकमाझ उत्सुकता बढ्दो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया