मुम्बई- नवकलाकार अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले दर्शकहरूलाई केवल मनोरञ्जन मात्र होइन, भावना र सम्बन्धको गहिराइ पनि महसुस गराइरहेको छ। फिल्म हेर्दै प्रेम प्रस्ताव गरेको एक दृश्य भाइरल भएपछि ‘सैयारा’ सामाजिक सञ्जालमा झनै चर्चित बनेको छ।
१८ जुलाई २०२५ मा विश्वव्यापी रूपमा रिलिज भएको यो फिल्मले रिलिजको दुई दिनभित्र नै ४८.२५ करोड भारु कमाइ गर्दै बक्स अफिसमा धमाका मच्चाएको छ। पहिलो दिन २२ करोड र दोस्रो दिन २६.२५ करोडको कमाइ भएको थियो। केही मल्टीप्लेक्सहरूले स्क्रिन संख्या बढाएपछि पहिलो दिनको कलेक्सन परिमार्जन गरिएको हो।
फिल्मले समीक्षकहरूबाट मिश्रित समीक्षा पाए पनि युवा दर्शकमाझ यसको क्रेज तीव्र रूपमा बढिरहेको छ। विशेषगरी फिल्मको कथावस्तु, इमोशनल दृश्यहरू, संवादहरू र संगीतले दर्शकलाई भावुक बनाएको देखिन्छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा दर्शकहरूलाई आँसु झार्दै फिल्म हेरेको देखिन्छ। एक भिडियोमा त युवतीले हलमै आफ्ना साथीलाई प्रेम प्रस्ताव गरेको दृश्य समेत देखिएको छ, जसले फिल्मको प्रभाव गहिरो रूपमा देखाएको छ।
शनिबार मात्रै बुक माई शो प्लेटफर्ममा ५ लाखभन्दा बढी टिकट बिक्री भएको थियो भने रातसम्म यो संख्या ७ लाख पुगेको बताइएको छ, जुन हालको परिवेशमा उल्लेखनीय उपलब्धि मानिन्छ।
फिल्म ट्रेड विश्लेषक आमिर अन्सारीका अनुसार, ‘सैयारा’ ले भारतमा मात्र २०० करोड भारु नेट कमाउने सम्भावना देखिएको छ भने अन्तर्राष्ट्रिय रूपमा यसको कमाइ २५० करोड पार गर्न सक्छ। उनले यो फिल्मलाई नयाँ कलाकारहरूसँग बलिउडमा स्थापित हुन सफल एउटा ऐतिहासिक प्रोजेक्टको रूपमा वर्णन गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया