काठमाडौं- २०८१ सालमा प्रदर्शन भएका नेपाली फिल्महरूबाट छनोट गरिने राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत ‘शाम्बाला’ चलचित्रले उत्कृष्ट फिल्मको उपाधि जितेको छ।
मीनबहादुर भाम निर्देशित यस चलचित्रले समीक्षात्मक रूपमा प्रशंसा बटुल्दै राष्ट्रिय तहमा पनि उच्च सम्मान प्राप्त गरेको हो। निर्देशक भामले उत्कृष्ट निर्देशकको पुरस्कार पनि हात पारेका छन्। त्यस्तै, उपासनासिंह ठकुरीले ‘खुस्मा’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको सम्मान पाउँदा, विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’बाट उत्कृष्ट अभिनेता घोषित भए।
लोकप्रिय हास्य चलचित्र ‘छक्का पञ्जा ५’ का लेखक दीपकराज गिरीले उत्कृष्ट पटकथा लेखनको पुरस्कार प्राप्त गरे। छायांकन विधामा ‘पिताम्बर’का पुरुषोत्तम प्रधान उत्कृष्ट ठहरिए भने, सम्पादनतर्फ ‘पुजार सार्की’का भरत रेग्मी सम्मानित भए।
आदिवासी जनजाति फिल्मको श्रेणीमा नेवारी भाषाको ‘गाले वन’ उत्कृष्ट फिल्म घोषित भयो। यसैगरी, प्रदीप खड्कालाई ‘पुजार सार्की’ फिल्मबाट निर्णायक समिति प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।
समारोह राष्ट्रपति भवनमा सम्पन्न भएको हो, जसमा विभिन्न श्रेणीका फिल्मकर्मीहरूलाई सम्मानित गरिएको थियो।
यस अवसरमा चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको छ। ‘मनको बाँध’बाट सहायक निर्देशकको रूपमा आफ्नो यात्रा सुरु गरेका शर्माले ‘भाइटीका’, ‘बरपिपल’, ‘साथी’जस्ता फिल्म निर्देशन गरेका छन्। उनलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया