काठमाडौं- मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ आफ्नो अन्तिम चरणमा पुगेको छ। यस पटक फिनालेमा आठ जना प्रतिस्पर्धीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो।
यु क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको यस प्रतियोगिताको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट चयन भएका छन्। उनीहरूले विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा स्थान बनाएका हुन्।
शोको उद्देश्यबारे बताउँदै एजेन्सीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले, “नेपालमा मोडलहरूले अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर पाउन सकेका छैनन्। हामीले शोमार्फत तिनीहरूलाई एउटै मञ्चमा देखाउने र उजागर गर्ने अवसर दिन खोजेका हौँ,” भनिन्।
स्वीकृति विगत १० वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय छिन्। उनले थपिन्, “म आफैंले कहिल्यै नपाएको एक्सपोजर अहिलेका प्रतिभावान युवाहरूलाई दिन चाहन्छु ताकि उनीहरूले संघर्षको यात्रा छोट्याउन सकून्।”
शोका सहसंस्थापक सम्शाद शाहका अनुसार, नेपालमा मोडलिङलाई अझै पनि पूरै पेशा मानेर नहेर्ने प्रवृत्तिका कारण धेरै युवाहरू विदेशिन बाध्य छन्। “हामीले यस्तो प्लेटफर्म दिँदैछौं जसले प्रमाणित गर्छ कि नेपालमै पनि अवसर छन्,” उनले स्पष्ट पारे।
यस संस्करणमा कुल १८ जना सहभागी थिए। हरेक एपिसोडमा प्रतिस्पर्धी हटाइँदै जाँदा अन्ततः आठ जना मात्र फिनालेमा पुगेका हुन्। अन्तिम प्रतिस्पर्धा आगामी बिहीबार होटल सोल्टी, काठमाडौंमा हुनेछ।
शोको विजेताले ‘द फेस नेपाल’को ब्रान्ड एम्बासडरको जिम्मेवारी पाउनेछन्। साथै, विजेताले सात लाख रुपैयाँ बराबरको पुरस्कार, म्युजिक भिडियो र विज्ञापन मोडलिङको अवसर प्राप्त गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया