काठमाडौं- निर्देशक मिलन चाम्सले तयार गरिरहेको आगामी फिल्म ‘सुम्निमा’ को मुख्य भूमिकामा मोडल तथा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन्। यसअघि अभिनेत्री उपासना सिंह ठकुरीलाई शीर्ष भूमिका दिइसकिएको छ। अब यी दुई कलाकारले फिल्ममा प्रेमी–प्रेमिकाको जोडी बाँध्ने तय भएको छ।
कुन्साङ र उपासना केही समयअघि एक फिल्मको प्रिमियरमा सँगै देखिएका थिए। त्यही अवसरमा उपासनाले भविष्यमा कुन्साङसँग सहकार्य हुनसक्ने संकेत दिएकी थिइन्। अब त्यो संकेत यथार्थमा परिणत हुँदैछ।
अभिनेता कुन्साङले पूजा शर्मा अभिनीत ‘दान्भी’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेका थिए। यसपटक उनी सुपरहिट निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्ममार्फत अगाडि बढ्न लागेका छन्। चाम्सको अघिल्लो फिल्म ‘अञ्जिला’ दर्शकमाझ लोकप्रिय भएको थियो।
‘सुम्निमा’ मा काम गर्न पाउनु आफूका लागि ठूलो अवसर भएको कुन्साङले बताएका छन्। “डेब्यु फिल्मको जस्तै यो फिल्ममा पनि मिहेनत गरेर आफूलाई प्रमाणित गर्छु,” उनले भने। उनलाई विश्वास छ कि ‘सुम्निमा’ले उनको करिअरमा नयाँ उचाइ थप्नेछ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने ‘सुम्निमा’ प्रेम कथामा आधारित हुनेछ। निर्देशक चाम्सले भनेका छन् कि फिल्म युनिभर्सल कथासहित अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर तयार पारिँदैछ।
राजीव थापाको कथा तथा पटकथामा बन्ने यस फिल्मको छायांकन बेलायतको लण्डन र नेपालमा आगामी अगस्ट महिनाबाट सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया