एजेन्सी- दक्षिण भारतीय अभिनेता तथा निर्देशक ऋषभ शेट्टीको चर्चित प्रोजेक्ट ‘कान्तारा: च्याप्टर १’ को प्रदर्शन मिति औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
निर्देशक शेट्टीको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म आउँदो असोज १६ गते (अक्टोबर २) रिलिज हुने घोषणा गरिएको हो। संयोगवश, सोही दिन हिन्दूहरुको महान चाड विजयादशमी पनि पर्छ।
गान्धी जयन्तीको अवसर पारेर विश्वव्यापी रूपमा रिलिज हुने तयारी गरिएको यो फिल्म हालै छायांकन सकिएको हो। फिल्मलाई बहुभाषिक रूपमा कन्नड, हिन्दी, तेलुगु, तमिल, मलयालम, बंगाली र अंग्रेजी भाषामा प्रदर्शन गरिनेछ, जसले यसको अन्तर्राष्ट्रिय पहुँचलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।
‘कान्तारा: च्याप्टर १’ सन् २०२२ मा अत्यधिक सफल रहेको फिल्म ‘कान्तारा’ को प्रिक्वेल हो। पहिल्यै निर्देशन तथा अभिनय गरेर दर्शकको मन जित्न सफल ऋषभ शेट्टी यसपटक अझ फरक र प्रभावशाली भूमिकामा देखिनेछन्।
सार्वजनिक पोस्टरमा उनी लामो कपाल र बाक्लो दाह्रीसहितको योद्धाको स्वरूपमा प्रस्तुत भएका छन्, जसले फिल्मको शैली र कथावस्तुमा गहिरो रहस्य तथा शक्तिको संकेत दिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया