मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेचीनगरले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने

झापा – मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो ।

न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताए । उनले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताए ।

यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा धेरै रकम विनियोजन गरेको छ । बजेटमा उल्लेख भएअनुसार चिया बगान तथा अन्य क्षेत्रका श्रमिकका लागि ‘बिमा कार्यक्रम’ शीर्षकमा रु २५ लाख रकम विनियोजन गरेको हो ।

नगरप्रमुख गोपाल बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको स्वास्थ्य बिमामा उक्त रकम खर्च गरिने बताए । उनका अनुसार मेचीनगरले विनियोजन गरेको यस बजेटबाट ७०० भन्दा बढी श्रमिक परिवार लाभान्वित हुने भएका छन् ।

मेचीनगरमा नेपाल चिया विकास निगमको टोकला चिया बगानलगायत दर्जनौँ ठूला र साना चिया बगान रहेका छन् । तीबाहेक यातायात, कृषि, ढुवानीलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा श्रमिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?