कोलकाता- एक मर्मान्तिक सडक दुर्घटनापछिको पेल्भिक चोटका कारण एक युवकले १० वर्षसम्म प्राकृतिक रूपमा दिसा गर्न सकिरहेका थिएनन्।
गम्भीर चोटका कारण उनको मलद्वार (एनस) को स्फिङ्क्टर प्रणाली पूर्ण रूपमा काम गर्न छाडेको थियो, जसले गर्दा उनलाई पेटमा जोडिएको विशेष थैली (कोलोस्टोमी ब्याग) को माध्यमबाट दिसा निकाल्नुपर्ने बाध्यता थियो।
दश वर्षपछि कोलकाताको एक प्रमुख अस्पतालमा गरिएको “ग्रासिलोप्लास्टी” नामक जटिल शल्यक्रियापछि ती युवक पुनः प्राकृतिक रूपमा दिसा गर्न सक्षम भएका छन्। यो सफल सर्जरी प्रसिद्ध जीआई सर्जन डा. सञ्जय मण्डलले सम्पन्न गरेका हुन्।
के हो ग्रासिलोप्लास्टी सर्जरी?
ग्रासिलोप्लास्टी शल्यक्रियामा बिरामीको जिउँको जांघबाट ग्रासिलिस मांसपेशीको केही भाग निकालिन्छ र त्यसलाई मलद्वारको स्फिङ्क्टर (नियन्त्रण गर्ने भाग) को रुपमा प्रतिस्थापन गरिन्छ। ती युवकको प्राकृतिक स्फिङ्क्टर प्रणाली पूर्ण रूपमा नष्ट भएकाले यो वैकल्पिक उपाय अपनाइएको हो।
प्रतिस्थापित मांसपेशीलाई समयसँगै स्फिङ्क्टरको जस्तो कार्य गर्न सिकाइन्छ र यसले बिरामीलाई दिसा नियन्त्रणमा राख्न सहयोग गर्छ।
डा. मण्डलले यो शल्यक्रियालाई निकै चुनौतीपूर्ण बताए। ग्रासिलोप्लास्टीसँगै उनले एनल क्यानल स्टेनोसिस (पायुपथ साँघुरो हुने समस्या) को फ्ल्याप मर्मतसमेत गरी बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउन सफल भएका हुन्।
एनल क्यानल स्टेनोसिसमा मलद्वारको भाग धेरै साँघुरो हुन्छ, जसले गर्दा दिसा गर्न गाह्रो हुन्छ। यस्तो अवस्थामा थाइ क्षेत्रबाट टिस्यु निकालेर मलद्वारको भागमा जोडिने विशेष प्रविधिको प्रयोग गरिन्छ, जसले गर्दा दिसा सहज तरिकाले गर्न सकिने बाटो खोलिन्छ।
यो सफल सर्जरीपछि ती युवक १० वर्ष लामो पीडादायक जीवनबाट मुक्त भएका छन् र पुनः सामान्य जीवन यापन गर्न सक्ने अवस्थामा पुगेका छन्। यो सर्जरी गम्भीर पेल्भिक चोटपछिको उपचारमा एउटा महत्त्वपूर्ण सफलता मानिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया