काठमाडौं– हाम्रो दैनिकीमा सजिलो, चाँडो र स्वादिलो खानाको रूपमा ससेजको प्रयोग अत्यधिक बढ्दो छ। विशेषगरी बच्चादेखि युवा पुस्तासम्म ससेजलाई नास्ता, चाउचाउसँग मिसाएर, वा फ्राइड खानाको रूपमा रुचाइन्छ। तर के तपाईंलाई थाहा छ। बारम्बार ससेज जस्ता प्रोसेस्ड मीट खाँदा तपाईंको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ?
विश्व स्वास्थ्य संगठन, पोषणविद् र चिकित्सकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् कि ससेज, सलामी, ह्याम, बेकन जस्ता प्रशोधित मासुहरू दीर्घकालीन रूपमा सेवन गर्दा क्यान्सर, हृदय रोग, मधुमेह, र अन्य धेरै जटिल रोगहरूको जोखिम बढ्छ।
ससेज के हो ?
ससेज मूलतः जनावरको मासु (सुँगुर, कुखुरा वा गाई) लाई प्रशोधन गरेर विभिन्न नुन, चिनी, प्रिजर्भेटिभ र केमिकल मिसाएर बनाइएको एक प्रकारको प्याक गरिएको मासु हो। यसमा स्वाद बढाउन (monosodium glutamate), नाइट्रेट र नाइट्राइट नामक रसायनहरू प्रयोग गरिन्छ, जुन क्यान्सरजन्य हुन सक्छ।
ससेज धेरै खाँदा हुने स्वास्थ्य जोखिमहरू:
१. क्यान्सरको जोखिम
विश्व स्वास्थ्य संगठनले प्रशोधित मासुलाई “Group 1 Carcinogen” मा राखेको छ — अर्थात्, वैज्ञानिक प्रमाणअनुसार यसले मानवमा क्यान्सर गराउँछ। विशेषगरी आन्द्रा (कोलन) क्यान्सर को खतरा अत्यधिक हुन्छ।
२. हृदय रोग र उच्च रक्तचाप
ससेजमा उच्च मात्रा नुन र बोसो हुन्छ। बारम्बार सेवनले कोलेस्ट्रोल बढाउँछ, जसले रक्तनलीहरू साँघुरा बनाउँछ र हार्ट अट्याक वा स्ट्रोक को जोखिम बढाउँछ।
३. मधुमेह र मोटोपन
यसमा अत्यधिक क्यालोरी, बोसो र कार्बोहाइड्रेट हुन्छ। दीर्घकालीन सेवनले तौल बढाउँछ, इन्सुलिन रेसिस्टेन्स ल्याउँछ र टाइप २ डायबिटिज को जोखिम बढाउँछ।
४. कलेजो र मिर्गौलामा असर
ससेजमा हुने प्रिजर्भेटिभ, कृत्रिम स्वाद र रंग मिलाउने रसायनहरू शरीरबाट निकाल्न कलेजो र मिर्गौलालाई अतिरिक्त दबाब दिनु पर्छ। लामो समय यसले कलेजो बिग्रन र मिर्गौलाको कार्यक्षमता कमजोर पार्न सक्छ।
५. बालबालिकामा असर
ससेजको अत्यधिक प्रयोगले बालबालिकाको शारीरिक विकास, मानसिक ध्यान केन्द्रित गर्ने क्षमता र प्रतिरक्षा प्रणालीमा असर पार्न सक्छ। अझ खतरनाक कुरा त के भने, MSG जस्ता तत्वले बच्चाको मस्तिष्क विकासमा अवरोध पुर्याउन सक्छ।
के गर्नु उचित ?
ससेज जस्ता प्रोसेस्ड फूडको सेवन न्यूनतम गर्नुहोस्।
ताजा मासु, सागसब्जी, दाल, फलफूल लगायत घरमै बनाइने खाना उपभोग गर्नुहोस्।
बच्चाहरूलाई ससेजको सट्टा फाइबरयुक्त नास्ता (जस्तै: मकई, दही, फलफूल, ओट्स) दिने प्रयास गर्नुहोस्।
बजारमा सस्तो र आकर्षक देखिने “रेड ससेज” जस्ता उत्पादनहरूबाट विशेष गरी सावधान रहनुहोस्। तीमा प्राय: अस्वस्थकर तेल, अत्यधिक रसायन र घटिया मासु प्रयोग भएको हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया