काठमाडौं। चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘मालती मंगले’को आधिकारिक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ।
निर्माण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार, यो चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरले चलचित्रको मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ। पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ।
विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्।
विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले चलचित्रले एउटा अर्ग्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।
चलचित्रका निर्देशक प्रकु पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन्। उनले भने, “यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने चलचित्र हो। यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।” चलचित्रको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको। कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया