मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ईक्यान चुनावमा सुरज सिलवालले गरे सचिव पदमा उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय निर्वाचनको मिति सार्वजनिक भएसँगै संघभित्र चुनावी सरगर्मी बढेको छ । यही पुस २८ गते हुने निर्वाचनका लागि विभिन्न पदमा व्यवसायीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैक्रममा हाल इक्यानको केन्द्रीय सदस्य रहेका सुरज सिलवालले आगामी कार्यसमितिका लागि सचिव पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । विगत १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रहेको उल्लेख गर्दै सिलवालले यस अवधिमा आर्जन गरेको व्यावहारिक अनुभव, जिम्मेवारीबोध र पेशागत निष्ठालाई आत्मसात गर्दै कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी) को स्थापना तथा सञ्चालन गर्दै आएको बताएका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सही तथा भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आएको उनको भनाइ छ । इक्यानसँगको आफ्नाे यात्राबारे स्मरण गर्दै सिलवालले पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा संघमा आबद्ध रही सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए । गत महाधिवेशनमा इक्यानियनहरूको माया, विश्वास र समर्थनका कारण उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित भएको तथ्य पनि उनले स्मरण गराएका छन् ।

आफ्नो दुई वर्षे कार्यकाल स्मरणयोग्य रहेको उल्लेख गर्दै सिलवालले संस्थाका अध्यक्षको नेतृत्वमा तयार गरिएका कार्ययोजना तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै सुम्पिएका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको दाबी गरेका छन् । आगामी दिनमा पनि संस्थाको हितलाई केन्द्रमा राख्दै निष्ठा, इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ सचिव पदको जिम्मेवारी बहन गर्न आफू तयार रहेको उनले बताएका छन् ।

सिलवालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सचिव पदका लागि उम्मेदवारी घोषणासँगै उनले आफ्ना संस्थागत प्रतिबद्धता तथा कार्ययोजनाहरू पनि सार्वजनिक गरेका छन् ।

उनका अनुसार आगामी कार्यकालमा सम्पूर्ण इक्यान सदस्यहरूलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिकामा सहभागी गराइनेछ भने व्यावसायिक तथा व्यवहारिक तालिमहरूलाई प्रभावकारी बनाइनेछ । केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्दै शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा नयाँ स्वीकृति प्रक्रियालाई सरल, छरितो र प्रभावकारी बनाउने पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

त्यसैगरी विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ र व्यवसायिक सहकार्य कार्यक्रम सञ्चालन गर्ने, निर्वाचित कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै कार्यक्रमहरूलाई परिणाममुखी बनाउने र केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।

इक्यानका शाखाहरूलाई सशक्त र सक्षम बनाउँदै प्रत्येक सदस्यसम्म नेटवर्किङ, सूचना र व्यवसायिक अवसर सुनिश्चित गर्ने, केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउन प्रायोजक खोजी गरी ‘वन डोर पोलिसी’ मार्फत बजेट व्यवस्थापन गर्ने लक्ष्य पनि उनले अघि सारेका छन् । दीर्घकालीन योजनाअन्तर्गत विश्वविद्यालय, कलेज तथा सदस्यहरूको सहकार्यमा ‘द नलेज हाउस’ अभियान सञ्चालन गरी कोष संकलन गर्दै इक्यानको आफ्नै भवन निर्माण गर्ने लक्ष्यमा ठोस कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

सिलवालले आम इक्यानियनप्रति पूर्ण भरोसा रहेको उल्लेख गर्दै विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी कार्ययोजनाको समग्र मूल्याङ्कन गरी सचिव पदका लागि साथ, सहयोग र अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?