काठमाडौँ। कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले आगामी फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत यसवर्ष दसैंमा आफ्नो फिल्म नभएको बताउँदै आगामी वर्षको दसैँमा भेट हुने बताएका हुन्।
उनले लेखेका छन्, ‘हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं । तापनि दशैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरुलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दशैँमा भेटौला ।’
यो दशैँमा तीन फिल्म ‘बलिदान’ ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले फूलपातीबाट बक्स अफिस भिडन्त गरेका थिए । यी तीनै फिल्मले बक्स अफिसमा अपेक्षित ग्रस कलेक्सन गर्न सकिरहेका छैनन् ।
दीपकले यो विषयलाई पनि सांकेतिकरुपमा छोएका छन् । उनले लेखेका छन्, ‘देशको राजनीनितक अवस्थाले साथै प्राकृतिक प्रकोपका बीच दशैँ सोचे जस्तो त पक्कै भएन होला ।’
प्रायः गरी दशैँ लक्षित गरी दीपकराजको टिमले फिल्म ल्याउने गरेको थियो । गत वर्ष ‘छक्का पञ्जा ५’ प्रदर्शनमा आउँदा अत्याधिक साइबर आक्रमण भएको बुझाइले उनले यो दशैँमा फिल्म ल्याएनन् ।
दीपक अहिले ‘छक्का पञ्जा टुर’का लागि अमेरिकामा छन् । उनीसँग कलाकार तथा निर्देशक दीपाश्री निरौला र अर्का कलाकार जितु नेपाल पनि सँगै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया