काठमाडौं– बलिउडका बादशाह शाहरुख खान पहिलो पल्ट भारतको अर्बपतिहरूको सूचीमा समावेश भएका छन् ।
उनको कूल सम्पत्ति १२ हजार ४९० करोड भारतीय रुपैयाँ रहेको खुलाइएको छ । भारतीय अर्बपतिहरूको सूची हरेक वर्ष एम थ्रि एम हुरुन इन्डियाले १ अक्टोबरमा सार्वजनिक गर्छ । यसपालिको सूचीमा तीन सय ५८ जना बढेका छन् । जसमा रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी शीर्षस्थानमा छन् ।
उनको कूल सम्पत्ति ९ दशमलव ५५ लाख करोड रुपैयाँ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिएका गौतम अडानी दोस्रो नम्बरमा छन् ।
उनीसँग ८ दशमलव १५ लाख करोडको सम्पत्ति छ । तेस्रो नम्बरमा पहिलो पल्ट महिला उद्यमीले प्रवेश पाएकी छिन् । उनको नाम रोशनी नादर मल्होत्रा हो । उनी एचसीएल टेक्नोलोजीको अध्यक्ष हुन् । उनको कूल सम्पत्ति २ दशमलव ८४ लाख करोड छ ।
यसपालि भारतमा १६ सय ८७ जना अर्बपतिको सूचीमा समावेश छन् । जसमा मुम्बईबाट मात्र ४ सय ५१ जना समावेश रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया