काठमाडौं। विश्वभर तीव्र गतिमा फैलिरहेको उच्च रक्तचाप (हाइपरटेन्सन) अब केवल मुटु र मिर्गौलासँग मात्र सीमित नरहने संकेत देखिएको छ।
चिकित्सकहरूका अनुसार, यस ‘मौन हत्यारा’ रोगका प्रारम्भिक लक्षणहरू अब आँखाबाटै देखिन थालेका छन्। यदि समयमै उपचार नगरिए, यसले स्थायी दृष्टि गुमाउने जोखिम समेत निम्त्याउन सक्छ।
स्वास्थ्य विशेषज्ञहरू भन्छन्, उच्च रक्तचापका कारण आँखाको रेटिनामा पर्ने असरलाई हाइपरटेन्सिभ रेटिनोप्याथी भनिन्छ। यस अवस्थामा आँखाको साना रक्तनलीहरू कडा, बाक्ला र साँघुरा हुँदै जान्छन्, जसले दृष्टिमा असर पुर्याउन थाल्छ।
रेटिनामा ‘चाँदीको तार’ जस्तै धमनी देखिन थाल्छ
विशेषज्ञहरूका अनुसार, रक्तचाप उच्च हुँदा रेटिनाका रक्तनलीहरूमा स्पष्ट परिवर्तन देखिन्छ। लामो समयसम्म नियन्त्रणमा नरहेमा, रेटिनाका धमनीहरू चाँदीको तार जस्तै चम्किलो र कठोर देखिन थाल्छन्। यस्ता लक्षणहरूलाई नजरअन्दाज गरेमा आँखाको दृष्टि नास हुने खतरा अत्यन्त उच्च हुन्छ।
रक्त प्रवाहमा अवरोध, दृष्टिमा असर
चिकित्सा रिपोर्टहरू अनुसार, यस्तो अवस्थामा रक्तनलीहरूले नसाहरूमा दबाब दिन थाल्छन्, जसलाई आर्टेरियोभेनस निकिंग (AV Nicking) भनिन्छ। यसले रेटिनामा रक्त प्रवाह अवरुद्ध पार्न सक्छ, जसबाट दृष्टि धमिलो देखिनु, आँखामा झझल्को देखिनु, वा दृष्टि हराउनु जस्ता समस्याहरू उत्पन्न हुन सक्छन्।
नेत्र रोग विशेषज्ञ भन्छन्:, “हामी प्रायः उच्च रक्तचापलाई मुटु वा मिर्गौलासँग मात्र सम्बन्धित रोग ठान्छौं, तर यो आँखाका लागि पनि अत्यन्त खतरनाक हुन सक्छ। यदि समयमै ध्यान दिइएन भने, यसले स्थायी रूपमा दृष्टि गुमाउने अवस्था पनि ल्याउन सक्छ।” विज्ञले उच्च रक्तचाप भएका सबै बिरामीलाई नियमित रूपमा आँखाको जाँच गराउने सल्लाह दिएका छन्।
निवारण के हो ?
विशेषज्ञहरू भन्छन्, यस्तो अवस्थाबाट जोगिनका लागि सर्वप्रथम रक्तचापलाई नियमित रूपमा नियन्त्रणमा राख्नु आवश्यक छ। साथै, वर्षमा कम्तीमा एक पटक आँखाको विस्तृत परीक्षण (Fundus Exam) गराउनु उपयुक्त हुन्छ।
आँखा शरीरको संवेदनशील अंग हो, जसले उच्च रक्तचापका प्रारम्भिक संकेतहरू दिन सक्छ। यस्तो संकेतलाई समयमै नचिन्ने हो भने, केवल दृष्टि गुम्ने मात्र होइन, जटिल र जीवनघातक स्वास्थ्य समस्याहरूको सुरुआत हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया