काठमाडौं। जाडो मौसम नजिकिँदै गर्दा मौसममा आएको परिवर्तनले भाइरस र ब्याक्टेरियाको सक्रियता बढाएको छ। विशेषज्ञहरूका अनुसार यस्तो समयमा रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बलियो नहुँदा सर्ने रोगहरू सजिलै संक्रमण गर्न सक्छन्।
विशेषतः बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले उनीहरूलाई विशेष सतर्कता आवश्यक छ।स्वास्थ्य विज्ञहरूले यस मौसममा स्वस्थ जीवनशैली, घरेलु उपाय र सन्तुलित आहार अपनाएर शरीरलाई भित्रबाट बलियो बनाउनु आवश्यक भएको बताएका छन्।
चिकित्सकहरूले सिफारिस गरेका ६ प्रमुख उपायहरू प्रस्तुत छन्:
१. बेसारको दूध
विशेषज्ञहरूका अनुसार, बेसारमा हुने कर्क्युमिन तत्वले सूजन कम गर्ने र संक्रमणसँग लड्ने क्षमता राख्छ।
सुत्नुअघि मनतातो दूधमा आधा चम्चा बेसार हालेर पिउँदा चिसो, खोकी, घाँटी दुख्ने समस्याबाट राहत मिल्छ। बेसारको दूध जाडोमा प्राकृतिक रोग प्रतिरोधात्मक उपाय हो ।
२. मनतातो पानीको सेवन
चिसो मौसममा बिहान उठ्नेबित्तिकै र खाना खाइसकेपछि २–३ गिलास मनतातो पानी पिउनु संक्रमणबाट बच्ने सहज उपाय हो।
यसले गला सफा राख्छ, पाचन सुधार गर्छ र शरीरलाई स्फूर्त बनाउँछ।
३. कालो मरिच, लसुन र मह
भुटेको लसुनमा कालो मरिच मिसाएर त्यसमा मह थपेर सेवन गर्दा शरीरमा गर्मी प्रदान हुन्छ र प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। विशेषतः सर्दी–जुकाम र खोकीबाट जोगिन यो उपाय उपयोगी मानिन्छ।
४. पर्याप्त निद्रा र आराम
७–८ घण्टाको गुणस्तरीय निद्रा रोगसँग लड्ने शरीरको प्राकृतिक क्षमतालाई बलियो बनाउने प्रमुख तत्व हो।
थकान र तनावले प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले नियमित आराम आवश्यक छ।
५. सरसफाइ र मास्कको प्रयोग
जाडोमा संक्रमणको जोखिम बढ्ने भएकाले बारम्बार हात धुने, सफा लुगा लगाउने र भीडभाडमा मास्क लगाउने बानीले संक्रमण टार्न सकिन्छ। विशेष सतर्कता विद्यालय जाने बालबालिका र सार्वजनिक स्थानमा काम गर्नेहरूका लागि सिफारिस गरिएको छ।
६. नियमित व्यायाम
हप्तामा कम्तीमा तीनदेखि चार दिन हल्का दौड, हिँडाइ वा योगा गर्नाले रक्तसञ्चार सुधार हुन्छ र प्रतिरक्षा प्रणाली सक्रिय रहन्छ। शरीरलाई सक्रिय राख्नु नै चिसो मौसममा स्वस्थ रहने प्रभावकारी उपाय हो।
स्वास्थ्य विज्ञहरू भन्छन्, “जाडोको सुरुआतमै शरीरलाई बलियो बनाउने तयारी नगरे संक्रमणको जोखिम उच्च हुन्छ।”
घरमै रहँदा अपनाउन सकिने यी सरल उपायहरूले शरीरलाई तन्दुरुस्त राख्न र रोगसँग लड्न सक्ने बनाउने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया