मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा ‘हात, खुट्टा र मुख रोग’को संक्रमण तीव्र, बालबालिकादेखि वृद्धसम्म जोखिममा

काठमाडाैं। छिमेकी देश भारतमा ‘हात, खुट्टा र मुख रोग’को संक्रमण तीव्र रूपमा फैलिएकाे छ, याे राेगकाे संक्रमणबाट बालबालिकादेखि वृद्धसम्म जोखिममा परेका छन् ।

समाचार एजेन्सीका अनुसार दिल्ली, गुरुग्राम र नोएडामा ‘हात, खुट्टा र मुख रोग’ (Hand, Foot and Mouth Disease – HFMD) को संक्रमण तीव्र रूपमा फैलिरहेको हाे । स्थानीय क्लिनिक तथा अस्पतालहरूमा दैनिक पाँचदेखि छ जना नयाँ बिरामीहरू उपचारका लागि आइरहेको चिकित्सकहरूले जानकारी दिएका छन्।

प्रमुख रूपमा ५ वर्ष मुनिका बालबालिकामा यो भाइरसले असर गरिरहेको भए पनि कमजोर प्रतिरक्षा प्रणाली भएका वयस्क र वृद्धवृद्धा पनि संक्रमणको जोखिममा परेका छन्। HFMD एक संक्रामक भाइरल रोग हो, जुन प्रायः कोक्ससाकी भाइरस A16 र एन्टेरोभाइरस-71 बाट सर्छ।

मनसुनपछि भाइरसको सक्रियता बढ्दो

विज्ञहरूका अनुसार मनसुनपछिको चिसो र आर्द्र वातावरणले भाइरसको सक्रियता बढाउँछ। विशेषगरी विद्यालय, प्लेग्रुप र डेकेयर जस्ता स्थानहरूबाट भाइरस तीव्र गतिमा फैलिन सक्ने जनाइएको छ।

चिकित्सकले बताए लक्षणहरू

HFMD का लक्षणहरू प्रायः संक्रमण भएको ३–५ दिनपछि देखिन्छन्।

मुख्य लक्षणहरू यसप्रकार छन्:

हल्का वा मध्यम ज्वरो

घाँटी दुख्ने, निल्न गाह्रो हुने

मुखमा रातो घाउ वा फोहोर

हात, खुट्टा, कुहिनो, घुँडा वा नितम्बमा दाग/रास

थकान, चिडचिडापन र भोक नलाग्ने

एसएमएस मेडिकल कलेज, जयपुर का सामुदायिक स्वास्थ्य विशेषज्ञ डा. मोहन बैरवा भन्छन्, “धेरैजसो बच्चाहरूमा लक्षण एकैपटक नदेखिइकन फरक–फरक दिनमा देखा पर्न सक्छ। सामान्यतया, बिरामी ७ देखि १० दिनभित्र निको हुन्छन्।”

भाइरस फैलिने तरिका

यो भाइरस संक्रमित व्यक्तिको र्‍याल, नाकको स्राव, फोका फुटेपछि निस्किने तरल पदार्थ वा दिसामार्फत पनि फैलिन सक्छ।
बालबालिकाले एक अर्कासँग खेलौना वा सतहहरू साझा गर्ने हुँदा भाइरस सजिलै सर्ने चिकित्सकहरू बताउँछन्। केही संक्रमितमा लक्षण नदेखिए पनि उनीहरू भाइरस बोक्ने र सर्ने स्रोत बन्न सक्छन्।

उपचार छैन, सावधानी नै प्रभावकारी उपाय

HFMD को हालसम्म कुनै खास औषधि वा खोप उपलब्ध छैन। भाइरल रोग भएकाले एन्टिबायोटिक प्रभावकारी हुँदैन।
उपचार मुख्यतः लक्षणहरू कम गर्न केन्द्रित हुन्छ:

ज्वरो र दुखाइका लागि प्यारासिटामोल वा आइबुप्रोफेन

पर्याप्त तरल पदार्थ सेवन गराउने

घाँटी दुखाइ कम गर्न मनतातो पानीले कुल्ला

मसलेदार र अमिलो खानेकुरा टार्नु

के गर्नुपर्छ ?

बच्चाहरूलाई पटक–पटक हात धुने बानी लगाउनुहोस्

संक्रमित बच्चाहरूलाई विद्यालय वा सार्वजनिक स्थलबाट केही दिन अलग राख्नुहोस्

घर तथा स्कूलका खेलौना र सतहहरू सफा गर्न नबिर्सनुहोस्

फोहोरसँगको सम्पर्कबाट बच्ने उपायहरू अवलम्बन गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?