काठमाडौं। अभिनेता विजय बराल र उनकी पत्नी तथा अभिनेत्री प्रमिला बराललाई पुत्रीलाभ भएको छ। प्रमिलाले आइतबार बिहान काठमाडौंको बागबजारस्थित मोडल अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। बराल दम्पतीको यो दोस्रो सन्तान हो। यसअघि उनीहरूका एक छोरा छन्।
छोरीको जन्मपछि अभिनेता बरालले सामाजिक सञ्जालमार्फत खुसी साट्दै लेखेका छन्, “आज जीवनले फेरि एउटा कविता लेखिदियो प्रिय प्रमिला। न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार। परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ। धन्यवाद ममी डा. अरुणा कार्की एण्ड टिम।”
बरालले अनलाइनखबरसँग कुराकानी गर्दै भने, “म एकदमै खुसी छु। ‘मालती मंगले’ को सुटिङबाट ब्रेक लिएर आएको हुँ।”
विजय बराल हाल गायक तथा अभिनेता रामकृष्ण ढकालको निर्माणमा तयार भइरहेका फिल्म ‘मालती मंगले’ मा व्यस्त छन्। दशैंपछि उनले ‘कबड्डी ५’ को छायांकनका लागि मुस्ताङ जाने तयारी गरेका छन्।
छोरीको आगमनसँगै बराल दम्पतीलाई फिल्म क्षेत्रका सहकर्मी, साथीभाइ र प्रशंसकहरूले बधाई तथा शुभकामना दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया