मुम्बई – अभिनेता तथा होस्ट सलमान खानलाई लगातार धम्की आइरहेपछि ‘बिग बोस’ कार्यक्रमको सेटमा सुरक्षा थप कडा पारिएको छ।
‘बिग बोस’का निर्माता तथा एन्डेमोल शाइन इन्डियाका सीईओ ऋषि नेगीका अनुसार अब कार्यक्रममा लाइभ अडिएन्सलाई प्रवेश गर्न दिइने छैन। उनका अनुसार हाल कार्यक्रममा करिब ६०० जना कार्यरत छन्, जसले तीन सिफ्टमा २४ घण्टा काम गर्छन्।
नेगीले भने, “महिलाहरू पनि ठूलो संख्यामा संलग्न छन्। कन्टेन्ट सुरक्षा र व्यवस्थापनमा कुनै सम्झौता गरिएको छैन। दुवै हाम्रो पहिलो प्राथमिकता हुन्।”
उनका अनुसार, साढे दुई वर्षदेखि नै सलमान खानको सुरक्षामा कडाइ गरिएको छ। अहिले कार्यक्रममा संलग्न सबै स्थायी वा अस्थायी व्यक्तिको पृष्ठभूमि जाँच गर्ने व्यवस्था मिलाइएको छ।
नेगीले स्पष्ट पारे कि सम्पूर्ण टोलीका लागि कडा सुरक्षा प्रोटोकल तयार गरिएको छ र हरेक तहमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ।
सलमानलाई केही समयदेखि लरेन्स ग्याङबाट धम्की आइरहेको छ। सन् २०२३ मा धम्की आएपछि महाराष्ट्र सरकारले उनलाई ‘वाई प्लस श्रेणीको सुरक्षा’ प्रदान गरेको थियो। हाल ११ जना जवान उनको सुरक्षामा खटिन्छन्, जसमा एक–दुई कमाण्डो र दुई पीएसओ समेत हुन्छन्।
उनको गाडी पनि पूर्ण रूपमा बुलेटप्रुफ छ भने हिँड्दा सधैं अगाडि र पछाडि दुईवटा सुरक्षा गाडी एस्कर्टका रूपमा तैनाथ हुने गर्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया