काठमाडौँ – घर, काम र व्यक्तिगत जीवन सन्तुलनमा राख्ने क्रममा महिलाहरूले प्रायः आफ्नो स्वास्थ्यमा ध्यान दिन छोड्ने गरेका छन्। उनीहरूमा देखिने सामान्य लक्षणहरू—जस्तै कमजोरी, थकान, बेचैनी वा कपाल झर्ने समस्या—प्रायः बेवास्ता गरिन्छ। तर, स्वास्थ्य विशेषज्ञहरूका अनुसार यी लक्षणहरू शरीरमा फलामको कमी (Iron Deficiency) का संकेत हुन सक्छन्।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर २०–२५ प्रतिशत महिलाहरूमा फलामको कमी पाइन्छ। यस्ता अवस्थामा, फेरिटिन परीक्षण अत्यन्तै महत्वपूर्ण हुन्छ।
फेरिटिन परीक्षण के हो ?
फेरिटिन शरीरमा फलाम भण्डारण गर्ने एक प्रकारको प्रोटिन हो, जसले आवश्यकताअनुसार फलाम छुट्याउँछ। धेरैजसो अवस्थामा मानिसहरूले रक्तअल्पता (Anemia) को जाँच गर्न हेमोग्लोबिन मात्र परीक्षण गर्ने गर्छन्।
यद्यपि, कतिपय महिलामा हेमोग्लोबिनको स्तर सामान्य भए पनि थकान, झाडा मुर्छा लाग्नेजस्ता लक्षण देखिन्छन्। यस्तो अवस्थामा फेरिटिन परीक्षणले वास्तविक कारण पत्ता लगाउन मद्दत गर्छ।
महिलाहरूमा फेरिटिन परीक्षण किन आवश्यक ?
महिनावारी, गर्भावस्था र स्तनपानका कारण महिलाहरूमा फलामको आवश्यक मात्रा अत्यधिक बढ्ने हुँदा यस परीक्षणको महत्त्व अझ बढ्दो छ।
लामो समयसम्म थकान र कमजोरीको अनुभव
खुट्टामा बेचैनी
कपाल झर्ने समस्या
ध्यान केन्द्रित गर्न कठिनाइ
रोग प्रतिरोधात्मक क्षमतामा कमी देखिएमा फेरिटिन परीक्षण गराउनु जरुरी हुन्छ।
कम फेरिटिन स्तर एनीमियासँग मात्र सम्बन्धित हुँदैन, यसले मानसिक स्वास्थ्य, थाइराइड कार्यक्षमता र प्रजनन स्वास्थ्यमा समेत असर पार्न सक्छ।
त्यस्तै, उच्च फेरिटिन स्तर भएमा शरीरमा आन्तरिक सूजन (Inflammation) देखिन सक्छ, जुन दीर्घकालीन रोगहरूको संकेत हुन सक्छ।
आहार मात्रले पुग्दैन
फलामको कमी सन्तुलित आहारले मात्र पूर्ति हुन्छ भन्ने आम मान्यता गलत रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्।
हरियो सागसब्जीमा पाइने नन-हेम आइरन शरीरमा सजिलै अवशोषित हुँदैन। मांसाहारी खाद्य स्रोतबाट पाइने हेम आइरन अपेक्षाकृत प्रभावकारी भए पनि चिया, कफी लगायत क्याफिनयुक्त पेय पदार्थले यसको अवशोषणमा बाधा पुर्याउने वैज्ञानिकहरूले बताएका छन्।
त्यसैले, यदि महिलाहरूमा फलामको कमीको लक्षण देखिएको छ भने फेरिटिन परीक्षण समयमै गराउनु उचित हुन्छ।
थकान, कमजोरी र अन्य लक्षणलाई सामान्य ठानी बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। विशेषज्ञहरूका अनुसार, फेरिटिन परीक्षणले नदेखिएका रोगहरूको पहिचानमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले महिलाहरूले स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया