काठमाडौँ – सामान्यतया फोहोरमा फालिने कफीको सिमी (ग्राउन्ड) अब अल्जाइमर, पार्किन्सन र हन्टिङटनजस्ता गम्भीर मस्तिष्क रोगहरूको उपचारमा उपयोगी हुन सक्ने तथ्य एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ।
अमेरिकाको टेक्सास विश्वविद्यालय, एल पासो का वैज्ञानिकहरूले कफी ग्राउन्डबाट विशेष प्रकारको नानो कण विकास गरेका छन्, जसले मस्तिष्क रोगका प्रमुख कारणहरूलाई रोक्ने क्षमता देखाएको छ।
अनुसन्धानकर्ताहरूले कफी ग्राउन्डमा पाइने प्राकृतिक रसायन क्याफिक एसिड बाट कार्बन क्वान्टम डट्स (CQDs) निर्माण गरेका छन्, जसलाई CACQDs (Caffeic Acid Carbon Quantum Dots) नाम दिइएको छ।
प्रयोगशालामा गरिएको परीक्षणमा यी नानो कणहरूले फ्री रेडिकलहरूलाई निष्क्रिय पार्ने, एमाइलोइड प्रोटिन क्लम्प बन्न नदिने, र मस्तिष्क कोषहरूको रक्षा गर्ने देखिएको छ।
अध्ययनमा उल्लेख भएअनुसार, CACQDs ले रगत-मस्तिष्क अवरोध (Blood-Brain Barrier) सजिलै पार गर्न सक्छ, जसले गर्दा यस्ता कणहरू मस्तिष्कमा प्रत्यक्ष पुगेर न्यूरोडिजेनेरेटिभ रोगहरूको मुख्य कारणलाई नियन्त्रण गर्न सक्षम हुन्छन्।
अनुसन्धानकर्ताहरूले २०० डिग्री सेल्सियस तापक्रममा ४ घण्टासम्म कफी ग्राउन्ड तताएर नानो कण उत्पादन गरेका थिए। यो प्रक्रिया रसायनरहित, पर्यावरणमैत्री, कम लागतमा सजिलै दोहोर्याउन मिल्ने भएकोले औद्योगिक उत्पादनको सम्भावना पनि उल्लेखनीय छ।
हाल अल्जाइमर र पार्किन्सनजस्ता रोगहरूको उपचार महँगो र सीमित प्रभावकारिता भएको भन्दै, वैज्ञानिकहरूले CACQD मा कम लागतमा असरदार उपचार प्रविधिको सम्भावना देखेका छन्। अनुसन्धानले कुनै उल्लेखनीय साइड इफेक्ट देखाएको छैन।
उक्त अनुसन्धानलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (NIH) ले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको थियो। अनुसन्धानकर्ताहरूको दाबी अनुसार, “आज फोहोरमा फालिने कफी ग्राउन्डले भोलिको औषधि बन्ने सम्भावना प्रवल देखिएको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया