काठमाडौँ – लोकप्रिय हास्य चलचित्र श्रृंखला ‘छक्का पन्जा’ बाट लगातार पाँच सफल फिल्म दिएका कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यही नामबाट अमेरिकामा कमेडी टुर गर्ने भएका छन्।
उक्त टुर कार्यक्रम सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाका विभिन्न सहरहरूमा आयोजना हुने जानकारी कलाकार दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत दिएका छन्।
आत्रेय प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा ‘छक्का पन्जा’ टिमका दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन्। त्यस्तै, टिमबाहिरबाट गायक धर्मेन्द्र सेवा, गायिका मिना पोखरेल र कार्यक्रम प्रस्तोता तथा अभिनेता आसिफ शाहको पनि सहभागिता रहनेछ।
कार्यक्रममा दीपक, दीपाश्री र जितुले कमेडी प्रस्तुति दिनेछन् भने धर्मेन्द्र र मिनाले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन आसिफ शाहले गर्ने जनाइएको छ।
‘छक्का पन्जा’ नामसँग जोडिएको यो टुरले नेपाली कला, हास्य र सङ्गीतलाई प्रवासी नेपालीहरू माझ थप नजिक पुर्याउने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया