काठमाडौँ – नेपालमा पहिलोपटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ भव्य रूपमा सम्पन्न भएको छ। गजलको विकास, विस्तार र परिष्कारमा क्रियाशील अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम १४ भदौ, शनिबार काठमाडौंमा सम्पन्न भएको हो।
उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्य रहेको थियो।सातवटै प्रदेशका स्रष्टाहरूका राष्ट्रिय भावमा आधारित गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत र स्वरमार्फत प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका गजलहरूमाथि ललितकला प्रज्ञाप्रतिष्ठानका कलाकारहरूले प्रत्यक्ष रूपमा चित्र पनि बनाएका थिए।
कार्यक्रम संयोजक तथा गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले साहित्य, सङ्गीत र चित्रकलालाई एउटै मञ्चमा प्रस्तुत गरिएको यो पहिलो प्रयास भएको बताए। प्राज्ञ परिषद् सदस्यहरूदेखि प्रतिष्ठानका प्रमुखहरूले समेत यस्तो बहुआयामिक प्रस्तुति ऐतिहासिक र प्रेरणादायी भएको बताएका छन्।
कवि प्रा. डा. देवी नेपालले सातै प्रदेशका प्रतिनिधिमूलक गजललाई संगीत र चित्रकलासँग एकीकृत गरेर प्रस्तुत गर्नु नेपाली वाङ्मयको समृद्धिको दिशामा ऐतिहासिक कदम भएको टिप्पणी गरे। कार्यक्रममा उल्लेखनीय उपस्थिति र सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया