पेरिस – फ्रान्सले माडागास्करलाई औपनिवेशिक कालका तीनवटा खोपडी फिर्ता गरेको छ। यीमध्ये एउटा खप्पर मालागासी राजा तोराको मानिन्छ, जसलाई सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले टाउको काटेर ट्रफीको रूपमा पेरिसको राष्ट्रिय इतिहास संग्रहालयमा राखेका थिए। बाँकी दुई खोपडी सकलवा जातिको भएको पुष्टि गरिएको छ।
सन् २०२३ मा फ्रान्समा पारित नयाँ कानून अनुसार मानव अवशेषहरूलाई उनीहरूको मूल देशमा फिर्ता गर्न अनुमति दिइएको थियो, जसको आधारमा यी खोपडीहरू माडागास्करलाई हस्तान्तरण गरिँदैछ।
फ्रान्सेली संस्कृतिमन्त्री रचिदा दातीले खप्पर ल्याउनु औपनिवेशिक हिंसासँग सम्बन्धित र मानव मर्यादाविरुद्धको विषय भएको बताए भने माडागास्करका संस्कृति मन्त्री भोलामिरन्ती डोना माराले यसलाई दुई देशबीच ‘नयाँ युगको सुरुवात’ भनेका छन्।
राजा तोरा र सकलवासी समुदायको खप्पर १२८ वर्षदेखि बाहिर रहेकोले माडागास्करमा ‘खुला घाउ’ जस्तो महसुस भइरहेको थियो। वैज्ञानिक अनुसन्धानले यी खोपडीहरू सकलवा समुदायका भएको पुष्टि गरे तापनि राजा तोराको खोपडी भएको पूर्ण रूपमा पुष्टि हुन सकेको छैन।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१७ मा अफ्रिकामा फ्रान्सेली अत्याचार स्वीकार गरेका थिए र यस वर्ष अप्रिलमा माडागास्कर भ्रमण गर्दै फ्रान्सको अत्याचारको लागि माफी मागेका थिए।
यी खप्परहरू आइतबार माडागास्कर फिर्ता गरिनेछ। यो कदमले औपनिवेशिक कालको अधूरो न्यायलाई सम्बोधन गर्ने प्रयासको रुपमा लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया