काठमाडौँ – बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशला दत्त हालै सामाजिक सञ्जालमा गरिएको एक रहस्यमय पोस्टका कारण चर्चामा छिन्।
आफ्नो पोस्टमा उनले अप्रत्यक्ष रूपमा परिवारप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेकी छिन्, “जो मानिस तपाईंको भावनात्मक, मानसिक वा शारीरिक शोषण गर्छ, त्यससँग तपाईंलाई सम्बन्धमा बाँधिन जरुरी छैन – चाहे ऊ तपाईंको परिवार नै किन नहोस्।” यस पोस्टपछि, संजय दत्तको एक दशक पुरानो अन्तर्वार्ता पनि पुनः चर्चामा आएको छ, जहाँ उनले छोरी त्रिशलालाई फिल्म उद्योगमा ल्याउने इच्छा नराखेको बताए।
सन् २०१२ मा फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा संजय दत्तले भनेका थिए, “त्रिशला एक फोरेन्सिक वैज्ञानिक हुन् र आफ्नो क्षेत्रमा निकै राम्रो गरिरहेकी छिन्। यस्तो अवस्थामा म किन उनलाई ग्ल्यामरको दुनियाँमा ल्याएर डान्स गराउन चाहन्छु?” उनले छोरीको बलिउडमा प्रवेश गर्ने चाहना सुन्दा आफू दुःखी भएको समेत बताएका थिए।
संजय दत्तको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई दुवै खाले आलोचना गरेका छन्। केहीले उनको अभिव्यक्तिलाई महिलाविरोधी भनेका छन् भने केहीले प्रश्न उठाएका छन् कि “संजय दत्तका लागि बलिउड उपयुक्त भए पनि छोरीका लागि किन होइन ?”
एक प्रयोगकर्ताले टिप्पणी गरे, “त्रिशला पनि अरु अभिनेत्रीजस्तै स्वतन्त्र रूपमा निर्णय गर्न सक्छिन्। के संजय दत्तले बलिउडमा काम गर्ने सबै महिला ‘कम्मर हल्लाउने’ मात्रै देख्छन्?” अर्को प्रयोगकर्ताले लेखे, “उनी छोरीका लागि बलिउड अनुपयुक्त भन्छन्, तर अरु महिलाको हकमा केही बोल्दैनन् — यो दोहोरो चरित्र हो।”
त्रिशला दत्त, संजय दत्त र दिवंगत अभिनेत्री ऋचा शर्माकी छोरी हुन्। उनी आफ्नो बाल्यकालदेखि नै अमेरिकामा हजुरबा-हजुरआमासँग बस्दै आएकी छिन्। पेशाले फोरेन्सिक विशेषज्ञ रहेकी त्रिशला सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः आफ्ना स्टाइलिस र ग्ल्यामरस तस्बिरहरू शेयर गर्ने गर्छिन्। धेरै फ्यानहरू उनलाई बलिउड डेब्यूको लागि तयार देखिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया