मुम्बई– बलिउडका स्टार गायक अरिजीत सिंहका गीतहरू भारतमा मात्र नभई विश्वभरका हिन्दी गीतप्रेमीमाझ अत्यधिक लोकप्रिय छन्। उनको स्वरले करोडौं फ्यानलाई मन्त्रमुग्ध बनाएको छ। उनी गाएका प्रायः गीतहरू चार्टबस्टरमा शीर्ष स्थानमा पुग्छन्।
तर, यति चर्चित गायक भएर पनि अरिजीत सिंह अझै साधारण जीवनशैली अपनाउने कलाकारका रूपमा चिनिन्छन्।
पश्चिम बंगालको मुर्सिदाबादमा २५ अप्रिलमा जन्मिएका अरिजीत पहिलोपटक सन् २००० को रियालिटी शो ‘फेम गुरुकुल’ मा देखिएका थिए। उत्कृष्ट प्रतिभा देखाउँदा–देखाउँदै उनी फाइनलमा पुग्नुअघि नै बाहिरिएका थिए।
झण्डै ६ वर्षपछि उनले पहिलो पटक बलिउडमा फिल्म मर्डर–२ को ‘फिर मोहब्बत’ गीत गाए, जसले उनलाई एकाएक चर्चामा ल्यायो। सन् २०१३ मा आएको आशिकी–२ को ‘क्यूँ कि तुम ही हो’ गीतले उनीलाई पुस्ताको अग्रणी गायकको रूपमा स्थापित गर्यो।
त्यसपछि उनले पद्मावत को ‘बिन्ते दिल’ देखि ब्रह्मास्त्र को ‘केसरिया’ जस्ता हिट गीत गाए। यी गीतले उनलाई राष्ट्रिय पुरस्कार दिलायो। उनले २०२५ मा पद्मश्री सम्मान पनि प्राप्त गर्नेछन्।
अरिजीत सिंह आज विश्वभरका दर्शकबीच लोकप्रिय छन्। उनका लाइभ कन्सर्टहरूमा हजारौं दर्शक उपस्थिति जनाउँछन्। रिपोर्टअनुसार, उनले दुई घण्टाको लाइभ कन्सर्टका लागि १४ करोड भारतीय रुपैयाँसम्म लिने गरेका छन्।
यद्यपि, यति कमाइ र स्टारडम हुँदाहुँदै पनि उनले कहिल्यै घमण्ड गरेका छैनन्। उनलाई प्रायः झोला बोकेर, चप्पल लगाएर, बस वा ट्रेन चढेर यात्रा गरिरहेको देखिन्छ। उनी प्रायः स्कुटीमै घुम्ने गर्छन् र आज पनि मुम्बई र मुर्सिदाबादबीच समय बिताउँछन्।
रिपोर्टअनुसार, अरिजीत सिंहको कुल सम्पत्ति ४१४ करोड भारतीय रुपैयाँ पुगेको छ। उनी ८ करोड मूल्यको आलिशान अपार्टमेन्टमा बस्छन्। उनीसँग रेञ्ज रोभर र मर्सिडीजसहित ३–४ करोडभन्दा बढी मूल्यका लक्जरी गाडीहरू पनि छन्। तर, व्यक्तिगत जीवनमा उनी साधारणतामा रमाउने गायक मानिन्छन्। यद्यपि, उनी स्कूटर तथा सार्वजनिक सवारीसाधनमै हिँडडुल गर्न मन पराउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया