मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पलेँटी’मा यसपटक संगीतकार रामकृष्ण दुवालको प्रस्तुति

काठमाडौं- नेपालयको ‘आर’शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुने नियमित साङ्गीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक वरिष्ठ संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन्।

आगामी २९ अगस्टमा हुने कार्यक्रममा दुवाललाई नयाँ पुस्ताका गायक अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन्। दुवाल नेपालभाषा परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा मात्र होइन, नेपाली गीत–सङ्गीतमा पनि प्रभावकारी योगदान पुर्‍याउँदै आएका छन्।

उनले कवि गोपालप्रसाद रिमालको शब्द ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ लाई धुन दिँदै राजनीतिक आन्दोलनलाई उर्जा दिएका थिए। यस्तै, नेपालभाषाको चर्चित गीत ‘सिर्सा या हेकू’ लाई परिमार्जन गर्दै सर्वप्रिय बनाउन सफल भएका छन्।

कार्यक्रम संयोजक संगीतकार आभासका अनुसार यसपटकको पलेँटीमा नेपालभाषा र नेपाली गीतहरूको संगम प्रस्तुत हुनेछ। उनले भने, “दुवाल दाइ उपत्यकाको सांगीतिक सभ्यताका जिउँदा सम्पदा हुन्। उहाँलाई पलेँटीमा प्रस्तुत गर्न पाउनु हाम्रो सौभाग्य हो।”

सो कार्यक्रममार्फत ऐतिहासिक महत्वका गीतहरू पनि प्रस्तुत गरिनेछन्। विशेष गरी रणजित मल्लले काशी निर्वासनमा जानुअघि रचेको भावनात्मक गीत समेत समावेश हुनेछ। नेपालभाषा नबुझ्नेका लागि ती गीतहरूलाई नेपालीमा अनुवाद गरेर प्रस्तुत गरिनेछ।

यसपटक बालगीतहरू पनि कार्यक्रमको आकर्षण हुनेछन्। दुवालले आफ्नै सिर्जना तथा कवि दुर्गालाल श्रेष्ठका शब्दमा धुन भरिएका गीत प्रस्तुत गर्ने तयारी गरेका छन्।

पलेँटी कार्यक्रम २० वर्षदेखि नियमित रूपमा हुँदै आएको साङ्गीतिक मञ्च हो, जसले पुराना र नयाँ पुस्ताबीचको सांगीतिक सेतुको रूपमा काम गर्दै आएको छ। दुवालले यसपटकको प्रस्तुति आफ्नो जीवनको विशेष अवसर हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?