मुम्बई – भारतीय क्रिकेटर युजवेन्द्र चहलसँग सम्बन्धविच्छेदपछि चर्चामा रहेकी कोरियोग्राफर तथा डिजिटल क्रिएटर धनश्री वर्माले प्रेम, जीवन र आत्मबलका बारेमा मुख खोलकी छन्।
हालै ‘ह्युमन्स अफ बम्बे’सँगको अन्तर्वार्तामा उनले सम्बन्धविच्छेदपछि आफ्नो मनस्थिति र भविष्यमा प्रेमप्रति दृष्टिकोण साझा गरेकी हुन्।
धनश्रीले भनिन्, “मलाई लाग्छ हामी सबै प्रेम चाहन्छौं। प्रेम नै यस्तो कुरा हो जसले मानिसलाई प्रेरणा दिन्छ। हामी सबैले कहिँ न कहिँ प्रेम गर्छौं, आशा गर्छौं र विश्वास गर्छौं।”
उनले आत्म–प्रेमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै थपिन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा हो आत्म–प्रेम। आफैंलाई प्रेम गर्नुहोस् र त्यसपछि मात्र प्रेम खोज्नुहोस्। तर यदि मेरो जीवनमा फेरि केही राम्रो लेखिएको छ भने, म त्यसका लागि तयार छु।”
धनश्रीले प्रेमलाई बलिउड फिल्मसरहको सुन्दर अनुभव भनेर व्याख्या गरिन्। “यो एकदमै बलिउडजस्तो लाग्छ – घण्टी बज्छ, फूल खस्छन्, त्यो अनुभूति सबैलाई मन पर्छ। हामी सबै त्यसरी नै प्रेममा पर्न चाहन्छौं,” उनले भनिन्।
युजवेन्द्र चहल र धनश्री वर्माको प्रेमकथा २०२० मा सुरु भएको थियो। चहलले धनश्रीको अनलाइन नृत्य कक्षा ज्वाइन गरेपछि उनीहरू नजिकिएका थिए। केही महिनामै इन्गेजमेन्ट र त्यसपछि डिसेम्बर २०२० मा विवाह भएको थियो।
तर, चार वर्षपछि उनीहरूको वैवाहिक सम्बन्ध टुट्यो। मार्च २०२५ मा आधिकारिक रूपमा सम्बन्धविच्छेद गरेका थिए। विभिन्न रिपोर्टअनुसार, चहलले धनश्रीलाई रु. ४.७५ करोड भरणपोषण रकम दिएका थिए।
अदालतमा उपस्थित हुँदा युजवेन्द्र चहलले “Be Your Own Sugar Daddy” लेखिएको टिशर्ट लगाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो। धेरैले यसलाई धनश्रीप्रति परोक्ष टिप्पणीको रूपमा हेरेका थिए।
त्यसैबेला धनश्रीले अनलाइन ट्रोलिङ र आलोचनाको सामना गर्नुपर्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई सम्बन्धविच्छेदको जिम्मेवार ठहराउँदै ‘गोल्ड डिगर’ जस्ता अभद्र टिप्पणीसमेत गरे। तर, ती सबै आलोचनाबीच पनि उनले आफूलाई अझ बलियो बनाएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया