मुम्बई – देओल परिवार फेरि ठूलो पर्दामा एकसाथ देखिन लागेको छ। सन् २००७ मा रिलिज भएको सफल फिल्म ‘अपने’ को दोस्रो भाग ‘अपने २’ बन्ने पक्का भएको छ। फिल्मका निर्देशक अनिल शर्माले स्क्रिप्ट तयार भइसकेको जानकारी दिएका छन्।
न्यूज १८ सँगको अन्तर्वार्तामा निर्देशक अनिल शर्माले भने, “‘अपने २’ पक्कै आउँदैछ। स्क्रिप्ट तयार भइसकेको छ। म हाल विभिन्न स्क्रिप्टहरूमा काम गरिरहेको छु, र यो प्रोजेक्ट मेरो लागि निकै विशेष छ।”
फिल्मको कथा सुनेपछि अभिनेता धर्मेन्द्र निकै भावुक भएको निर्देशक शर्माले खुलासा गरे। उनले भने, “जब मैले धर्मजीलाई कथा सुनाएँ, उहाँ रोन थाल्नुभयो। कथा उहाँको मन छोएको थियो।”
त्यसपछि जब बबी देओलले स्क्रिप्ट सुने, उनले निर्देशकलाई अँगालो हालेका थिए। सनी देओलले पनि जब थाहा पाए कि उनका बुबा धर्मेन्द्र र भाई बबीले फिल्मका लागि सहमति जनाइसकेका छन्, उनले पनि तुरुन्तै फिल्म गर्न तयार भएको शर्माले बताए।
शर्माले देओल परिवारसँगको आफ्नो सम्बन्धबारे भने, “हाम्रो सम्बन्ध केवल प्रोफेसनल होइन, व्यक्तिगत पनि गहिरो छ। हामी एकअर्काको कुराहरू गोप्य राख्न सक्छौं। हामीबीच माया, स्नेह र सम्मानको गहिरो सम्बन्ध छ।”
अनिल शर्मा र देओल परिवारको सहकार्य पुरानो हो। उनले धर्मेन्द्रसँग सन् १९८७ को फिल्म ‘हुकुमत’ मार्फत कामको थालनी गरेका थिए। सनी देओलसँग उनले हालैको ब्लकबस्टर ‘गदर २’ निर्देशन गरेका थिए, जसले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्यो।
अब दर्शकहरू ‘अपने २’ मा देओल परिवार — धर्मेन्द्र, सनी देओल र बबी देओल — लाई पुनः एकसाथ पर्दामा देख्न पाउनेछन्। फिल्मको छायांकन र रिलिज मिति सम्बन्धी आधिकारिक घोषणा भने केही समयमै हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया