मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तरी पाकिस्तानमा मनसुनी बाढी, मृत्यु ४०० नाघ्यो

पाकिस्तान – उत्तरी पाकिस्तानमा पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ४०० नाघेको छ। अधिकारीहरूले वर्षा अझै केही दिन जारी रहने चेतावनी दिएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार खैबर पख्तुनख्वा प्रान्तमा मात्रै ३५६ जनाको मृत्यु भएको छ। दलोरी गाउँमा आएको बाढीले पूरै गाउँ बगाएपछि उद्धार टोली भग्नावशेष खनेर बेपत्ताहरूको खोजी गरिरहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार गाउँ २० मिनेटमै भग्नावशेषमा परिणत भएको हो। लगातारको वर्षाले उद्धार कार्यमा अवरोध पुर्‍याएको छ भने सडक भासिएकाले प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको छ। फोन नेटवर्क अवरुद्ध हुँदा सञ्चारसमेत अवरुद्ध भएको छ।

उत्तरी क्षेत्रसँगै दक्षिणी सिन्ध र बलुचिस्तान प्रान्तमा पनि भारी वर्षा सुरु भएको छ। मौसमविद्हरूले कराँचीसहितका ठूला सहरमा कमजोर पूर्वाधारका कारण शहरी बाढी आउने चेतावनी दिएका छन्। कराँचीतर्फ ढल प्रणाली नचल्दा सडकमा पानी जमेको र विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ।

बलुचिस्तानका १५ जिल्लामा पनि वर्षा भइरहेको छ भने सिन्धसँग जोड्ने मुख्य राजमार्ग बन्द भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। प्रभावित दुई जिल्लामा करिब ५० घरमा क्षति पुगेको छ।

एनडीएमाका अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदर मलिकका अनुसार मनसुनी वर्षा शनिबारसम्म जारी रहने र महिनाको अन्त्यसम्म पुनः ठूलो वर्षा हुने सम्भावना छ।

जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाका कारण ७०० भन्दा बढीको मृत्यु र १,००० भन्दा बढी घाइते भएको एनडीएमाले जनाएको छ। सन् २०२२ मा आएको बाढीले पाकिस्तानको एक तिहाइ भूभाग डुबाएको थियो र १,७०० जनाले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?