काठमाडौँ – नेपालमा यस वर्ष जापानिज इन्सेफलाइटिस् (JE) का कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ६३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीमा एक–एक जना तथा चितवनमा तीन जनाको मृत्यु भएको हो। मृतकमध्ये एक ८ वर्षका, एक १७ वर्षका र बाँकी ४० वर्षमाथिका नौ जना रहेका छन्।
डा. गौतमका अनुसार घरमै रहेका ३० प्रतिशत र अस्पताल पुर्याउने क्रममा २७ प्रतिशत बिरामीको ज्यान गएको छ। सन् २०२४ मा यो रोगबाट २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
उनी भन्छन्, “जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा बढी सङ्क्रमण देखिएको छ। हालसम्म २४ जिल्लाका ५० स्थानीय तहमा यो देखिएको छ र २४ स्थानीय तहलाई उच्च जोखिम क्षेत्र मानिएको छ। रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ।” नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकालाई यो रोगविरुद्धको खोप लगाइसकिएको विभागले जनाएको छ।
कसरी सर्छ ?
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी गम्भीर रोग हो। यो लामखुट्टे साँझपख र बिहान सबेरै बढी सक्रिय हुन्छ। धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा जोखिम उच्च हुन्छ।
गम्भीर अवस्थामा पुग्दा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा पुग्ने र करिब ३० प्रतिशत बिरामीको मृत्यु हुने खतरा रहन्छ।
यो रोग जुनसुकै उमेरमा लाग्न सक्ने भए पनि प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ। सङ्क्रमित हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्छ। तर मानिसबाट मानिसमा भने यो सर्दैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया